काठमाण्डौ । पाकिस्तान यतिबेला गम्भीर आर्थिक संकटमा फसेको छ। एकातिर विदेशी ऋणको बोझ र विदेशी मुद्रा सञ्चिती न्यून तहमा छ भने अर्कोतिर पिठोलगायत अत्यावश्यक वस्तुको मूल्य आकासिएको छ।
आर्थिक संकटबीच पाकिस्तानमा राजनीति खिचातानी पनि चर्किएको छ। हालै सत्ताबाट बाहिरिएका इमरान खानले आफ्ना समर्थकसँग र्याली निकालिरहेका छन्।
यसैबीच पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री सहबाज सरिफले अनौठो अभिव्यक्ति दिएका छन्। एउटा जनसभालाई सम्बोधन गर्दै सरिफले जनतालाई सस्तो पिठो उपलब्ध गराउन आफ्नो लुगासमेत बेच्न तयार रहेको बताएका छन्।
ठाकारा स्टेडियममा आइतबार आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा सरिफले खैबर पख्तुनख्वाका मुख्यमन्त्री महमुद खानलाई चेतावनी दिँदै भने, ‘आगामी २४ घन्टाभित्र १० किलोको पिठोको प्याकेटको मूल्य ४०० रुपैयाँ कायम नगरिए मेरो लुगा बेचेर भए पनि जनतालाई सस्तो पिठो उपलब्ध गराउनेछु।’
जनसभामा सरिफले पूर्वप्रधानमन्त्री इमरान खानप्रति निकै आक्रोश व्यक्त गरे। ‘इमरान खानले देशलाई अहिलेसम्मकै उच्च मुद्रास्फीति र बेरोजगारी उपहार दिएका छन्’, उनले भने, ‘खानले ५० लाख घर र एक करोड रोजगारी दिने वाचा गरेका थिए। तर, त्यो पूरा गर्न नसकेर देशलाई आर्थिक संकटमा धकेलिदिए।’
‘म घोषणा गर्छु कि देशलाई समृद्धि र विकासको बाटोमा अगाडि बढाउन म आफ्नो ज्यानका बाजी लगाएर काम गर्नेछु’, सरिफले भने।
सरिफले पाकिस्तानमा डिजेल–पेट्रोलको मूल्य आकाशिएकोमा चिन्ता व्यक्त गरे। यो अवस्थाका लागि उनले पूर्वप्रधानमन्त्री इमरान खान जिम्मेवार ठहराए। ‘जब अविश्वासको प्रस्तावबाट सत्ताबाट आफूलाई हटाइँदैछ भन्ने थाहा भयो तब इमरान खानले पेट्रोलियम पदार्थको मूल्य घटाए। तर सार विश्वमा मूल्य बढिरहेको थियो।’ –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19