काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा डाकेको छ। 

संस्थाको सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलस्थित एसियन होटेलमा बिहान ९ बजेबाट सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल ११ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश छन्। 

सभाले वित्तीय संस्थाको जारी तथा चुक्तापुँजी ८० करोड ५१ लाख ५५ हजार ७४१ रुपैयाँबाट वृद्धि गरी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँ पुर्याउने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि संस्थाले पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।