काठमाण्डौ । निस्क्रिय कर्जा बढ्दा इम्पेयरमेन्ट चार्ज २८० प्रतिशतले बढेको अवस्थामा पनि आरएसडिसी लघुवित्तको खूद नाफा सामान्य मात्र घटेको छ । 

यो कम्पनीले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । कम्पनीका अन्य मुख्य वित्तीय सूचकहरुमा प्रगति नै भएको छ । 

अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ०.४० प्रतिशतमा सीमित निस्क्रिय कर्जा बढेर समीक्षा अवधिमा १.३७ प्रतिशत पुगेको छ । यसकै कारण इम्पेयरमेन्ट चार्ज पनि १ करोड ९३ लाखबाट बढेर ७ करोड ३७ लाख पुगेको छ। 

यसका कारण यो कम्पनीको खूद नाफा पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म ९ करोड ४३ लाख रुपैयाँ रहेको खूद नाफा घटेर समीक्षा अवधिमा ८ करोड ६० लाख रुपैयाँमा सीमित बन्न पुगेको हो । निस्क्रिया कर्जा ह्वात्तै बढेर इम्पेयरमेन्ट चार्ज फराकिलो प्रतिशतले बढ्दा र नियामकले विभिन्न नीतिगत व्यवस्थामार्फत लघुवित्तहरुलाई प्रहार गरेको अवस्थामा समेत खूद नाफा करिब ९ प्रतिशतले मात्र घट्नुलाई सामान्य मान्न सकिन्छ । 

यो अवधिका कम्पनीको चुक्तापूँजी ८ प्रतिशतले बढेको देखिएको छ भने रिजर्भ ७.७१ प्रतिशतले बढेको छ । 

व्यवसाय विस्तारमा राम्रै मूभ गरेका कारण खूद ब्याज आम्दानी १६ करोड ५६ लाखबाट बढेर २१ करोड ४० लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा आरएसडिसीको वितरणयोग्य मुनाफा ५ करोड ६३ लाख रुपैयाँ रहेको छ । 

यो अवधिमा आरएसडिसीले ५ अर्ब ९३ करोड सापटी लिएको छ भने ६ अर्ब ७१ करोड बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा सापटी ३२.४२ प्रतिशत तथा कर्जा २४.६० प्रतिशतले बढेको छ । 

कम्पनीको नाफा घट्दा त्यसको असर वार्षिकीकृत प्रतिसेयर आम्दानीमा पनि परेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको इपीएस १५.६२ रुपैयाँ रहेकोमा घटेर समीक्षा अवधिमा १३.१९ रु. मा सीमित भएको छ । 

पीई रेसियो ३८.५१ गुणा रहेको छ ।