काठमाण्डौ । स्थापनाको छोटो समयमै आशा लघुवित्तले लगानीकर्तालाई निराश बनाएको छ । कारण, छोटो समयमै यो कम्पनीको खराब कर्जाको अनुपातमा निकै ठूलो अनुपातमा वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा आशा लघुवित्तमा खराब कर्जाको अनुपात २.६७ प्रतिशत पुगेको हो । जबकि अघिल्लो वर्ष यही अवधिमा यस्तो कर्जाको अनुपात ०.७३ प्रतिशतमा सीमित थियो ।

कम्पनीलले समीक्षा अवधिमा १ करोड ४५ लाख खूद नाफा आर्जन गरेको छ भने अघिल्लो वर्षको यही अवधिसम्म ३ करोल ७६ हजार रहेको संचालन घाटामा तीव्र सुधार गरी १ करोड ६६ लाख संचालन मुनाफा आर्जन गरेको छ ।

कम्पनीको अघिल्लो वर्ष ३ करोड ६३ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर ७ करोड ८१ लाख पुगेको छ भने १ करोड १० लाखले नेगेटिभ रहेको रिजर्ब १ करोड ४३ लाखले पोजिटिभ बनेको छ ।

समीक्षा अवधिमा आशा लघुवित्तले ४० करोड १७ लाख निक्षेप संकलन गरी तथा १ अर्ब ३३ करोड सापटी लिई १ अर्ब ५८ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्ल्लो वर्ष यही अवधिसम्म २० करोड २९ लाख निक्षेप संकलन गरी तथा ८४ करोड ६१ लाख सापटी लिई १ अर्ब ९ करोड बढी कर्जा परिचालन गरेको छ ।

अघिल्लो वर्ष ०.०१ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी ९.३६ रुपैयाँ पुगेको छ भने यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.९१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५०.३३ गुणा कायम भएको छ ।