काठमाण्डौ । सेयर बजारमा यो साता चार दिन लगातार बजार बढेको छ ।

यस बीचमा इन्ट्रा डे करेक्सन हुँदै बजारले माथिको यात्रा तय गरेको छ । उक्त अवधिमा करिब ३०० अंक बढेको बजारमा भोलुमले राम्रै साथ दिएको छ । साताको चौथो कारोबार दिन बुधबार पनि बुलिस क्यान्डलसहित एक बर्ष पछिकै उच्च कारोबार अर्थात् ७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसअघि गत वर्ष पुस २७ गते ७ अर्ब रुपैयाँ करोबार भएको थियो । यो दिन करिब २ हजार १४१ विन्दु अर्थात् यसअघिको प्रतिरोध नजिक पुगेको बजारमा अब के होला त ? भन्ने आम लगानीकर्तामा चासो देखिन्छ । प्राविधिक रुपमा यस प्रश्नको जवाफ भने त्यति सजिलो छैन । इन्डिकेटरबाट हेर्दा बजार आजसम्म पनि पूर्णरुपमा बुलिस देखिन्छ ।

म्याक्डी सुपर ट्रेन्ड जस्ता इन्डिकेटरबाट पनि बुलिस नै देखिन्छ । बजारलाई इन्डिकेटरबाट हेर्दा लगातार बढेको बजारमा आगामी दिनमा कुनै पनि समयमा करेक्सन आउँछ भने त्यो बजारको लागि राम्रो नै हुन सक्छ । किनकि बजार जहिल्यै पनि एक कदम पछाडि र दुई कदम अगाडि  बढ्ने गर्दछ ।

यसलाई प्राविधिक रुपमा ट्रेन्डलाईनबाट नियाल्दा यदि केहि गरिकन करेक्सन आएर बजार २ हजार ६० विन्दुभन्दा माथिमाथि भोलुमसहित टिक्छ भने बजारले डाउथेउरीमा पनि हाएर लो बनाउन आएको र पुनः नयाँ छलाङ मार्दै छ भनेर बुझ्न सकिन्छ ।

अन्यथा बजारले केहि समय साइड वेजमा बजार चल्न सक्ने छ । हाल निरन्तर बढेको बजारले २ हजार २०० विन्दु आसपास वा माथि भने एउटा कडा प्रतिरोध सामना गर्न सक्ने देखिन्छ । किनकि इन्डिकेटरहरु ओभर बट जोनमा पुगिसेकका छन् । 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)