काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा संस्थाले ४ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ११७.८४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालक मुनाफा १६८.०३ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा २ करोड ३ लाख रुपैयाँ रहेको यस्तो मुनाफा समीक्षा अवधिमा बढेर ५ करोड ४४ लाख रुपैयाँ भएको छ। 

संस्थाको खुद ब्याज आम्दानी १६०.१६ प्रतिशतले बढेर ८ करोड ५९ लाख रुपैयाँ भएको छ। गत वर्ष यस्तो आम्दानी ३ करोड ३० लाख रुपैयाँ रहेको थियो।

प्रथम त्रैमासमा संस्थाले २ अर्ब ८४ करोड रुपैयाँ सापटी लिई ४ अर्ब २० रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले २ अर्ब १६ करोड रुपैयाँ सापटी लिई २ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी ३२ करोड ४६ रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार बढेर १८०.३९ प्रतिशतले बढेर २७ करोड ९ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा ९ करोड ६६ लाख रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५८.५३ रुपैयाँ रहेको छ। पीई रेसियो ३१.०१ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८३.४८ रुपैयाँ रहेको छ।