काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नेवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोटस्थित होटेल द नारायणीमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल २९.१६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २७.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.४६ प्रतिशत नगद लाभांश छन्। बोनस सेयर जारीपछि जारी पुँजी र चुक्ता पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले संस्थाको हाल कायम रहेको अधिकृत पुँजी ५० करोडलाई वृद्धि गरी १ अर्ब पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ। 

उपयुक्त एक वा एकभन्दा बढी लघुवित्त संस्थाहरु गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय सभाले गर्नेछ। सोही सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही पुस १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।