काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमीटेडको नाफामा पहिरो गएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ लाख २२ हजार खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा २८ लाख ५२ हजार रहेको थियो । 

खूद नाफामा भारी गिरावट आए पनि बैंकको खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्ष १ करोड ७१ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष २ करोड ४० लाखको उचाईमा पुगेको हो ।

यो कम्पनीको संचालन घाटा अचाक्ली बढेको छ । अघिल्लो वर्ष यही अवधिमा  ८ हजार रहेको संचालन घाटा बढेर यो वर्ष ७१ लाख ९८ हजार पुगेको हो ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ५० करोड निक्षेप संकलन गरी १ अर्ब ४० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १ अर्ब १२ करोड निक्षेप संकलन गरी ९२ करोड ३५ लाख बढी कर्जा परिचालन गरेको थियो । 

बैंकले रिजर्बकोषतर्फ निकै राम्रो फड्को मारेको छ । अघिल्लो वर्षको यही अवधिसम्म कोषमा १ करोड ३४ लाख रहेकोमा त्यो बढेर यो वर्ष २ करोड ३२ लाखको उचाईमा पुगेको छ । 

बैंकले खराब कर्जाको अनुपातलाई घटाउने सफलता समेत प्राप्त नगरेको देखिएको छ । अघिल्लो वर्ष १.२१ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा बढेर यो वर्ष १.४८ प्रतिशत पुगेको छ । 

अघिल्लो वर्षको यही अवधिको तुलनामा ३१ प्रतिशतले चुक्तापूँजी बढे पनि नाफा भने बढ्न नसक्दा वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेको छ ।

अघिल्लो वर्ष यही अवधिको प्रतिसेयर आम्दानी २ रुपैयाँ ९४ पैसा रहेकोमा त्यो घटेर यो वर्ष १ रुपैयाँ २८ पैसामा सीमित बन्न पुगेको हो । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १०४.५७ रुपैयाँ कायम भएको छ ।