– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) एकमात्र प्राइभेट पब्लिक पार्टनरसिपमा आधारित बैंक हो। यो बैंकमा विभिन्न प्राइभेट, पब्लिक र सर्वसाधरणको लगानी रहेको छ। 

निफ्रामा ५ वटा वाणिज्य बैंकको २०.८९ प्रतिशत, नेपाल सरकारको १० प्रतिशत, १० वटा बीमा कम्पनीहरुको १८.९७ प्रतिशत, अन्य १० प्राइभेट एन्ड पब्लिक कम्पनीहरुको ५.१५ प्रतिशत, उद्यमीहरुबाट ४.९९ प्रतिशत गरी ६० प्रतिशत संस्थापक र सर्वसाधारणबाट ४० प्रतिशत गरी २१ अर्ब ६० करोड रुपैयाँको जारी पुँजी छ भने अधिकृत पुँजी ४० अर्ब रुपैयाँ रहेको छ। निफ्रा सन् २०१८ को जुनमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो।

आधारभूत पक्ष 

चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म निफ्राको चुक्तापुँजी २१ अर्ब ६० रुपैयाँबराबर रहेको छ भने जगेडा कोषमा १ अर्ब ६७ करोड रुपैयाँबराबर रहेको छ। समीक्षा अवधिमा निफ्राको खुद मुनाफा ७६ करोड ६१ लाख रुपैयाँबराबर रहेको छ। यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३ प्रतिशतले बढी हो । दोस्रो त्रैमासमा निफ्राको ब्याज आम्दानी ६० प्रतिशतले बढ्दा नाफामा पनि बढोत्तरी भएको हो। 

समीक्षा अवधिमा निफ्राको प्रतिसेयर आम्दानी ७.०९ रुपैयाँ, बुक भ्यालु १०८ रुपैयाँ, रिटर्न अन इक्विटी ६.५९ रुपैयाँ रहेको छ। 

प्राविधिक पक्ष

इलिअत वेभका आधारमा 

यो सिद्धान्त १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विस्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ।

इलिअट वेभमा खासगरी ८ वेभ हुन्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए  हो। वेभ ए, बी र सीले  बजार तल जाने संकेत गर्छ।

निफ्राको सेयरमूल्यलाई इलिअट वेभमा चार्टमार्फत हेर्दा पछिल्लो अवस्थाको न्यून विन्दु १८० रुपैयाँ रहेको देखिन्छ। निफ्राको मूल्यले बनाएको चार्टलाई  फिवोनासी र इलिअट वेभमार्फत हेर्दा वेभ १ मा सेयरको भाउ २६० रुपैयाँसम्म पुगेको देखिन्छ। त्यसैगरी वेभ २ मा करेक्सन भएर २१८ रुपैयाँसम्म पुगेको देखिन्छ। अब वेभ ३ मा बढोत्तरीका साथ ३०० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। 

त्यसैगरी वेभ ४ मा पुनः करेक्सन भएर २८० रुपैयाँसम्म र वेभ ५ मा अबको ६ महिनाको अवधिमा लगभग ३५० रुपैयाँसम्म निफ्राको सेयरभाउ पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)

बोलिंगर ब्यान्ड, म्याक्डी तथा आरएसआईका आधारमा 

बोलिंगर ब्यान्डमार्फत निफ्राको मूल्यरेखाले मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको देखिन्छ। म्याक्डीमार्फत हेर्दा अघिल्लो महिना बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको देखिन्छ भने हिस्टोग्राम नेगेटिभ रहे पनि छोटा–छोटा हुँुुुुदै गएका छन्। आरएसआई हाल ४९ को न्युट्रल जोनमा रहेको छ। 

पिभट प्वइन्टका आधारमा (ओओरली बेसमा)

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध

  • प्रतिरोध १– २५५
  • प्रतिरोध २– २८६
  • प्रतिरोध ३– ३११

पिभट प्वइन्टः  २३०

घटेमा सपोर्ट 

  • सपोर्ट १– २५५ 
  • सपोर्ट २– १७४
  • सपोर्ट ३– १४३

निष्कर्ष

निफ्रा धेरै लगानीकर्ताको रोजाइमा रहेको कम्पनी हो। आधारभूत रुपमा हेर्दा निफ्राले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ब्याज आम्दानी ६० प्रतिशतले बढेको छ । यस हिसाबले हेर्दा कम्पनीको नाफा, प्रतिसेयर आम्दानी, खुद मुनाफा तथा रिर्टन अन इक्विटी पनि बढेको छ। 

प्राविधिक रुपमा निफ्रा इलिअट वेभमार्फत नियाल्दा वेभ ३ चल्दै गरेको र सेयरभाउले केही समयमा बढोत्तरीका साथ ३५० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। आवरली चार्टमार्फत हेर्दा बोलिंगरको मध्य ब्यान्डलाई ब्रेक गरेर माथि गएको छ। म्याक्डीमार्फत हेर्दा केही समयपहिले बुलिस क्रसओभर बनेको देखिन्छ। आरएसआई ओभरसोल्ड जोन नजिक पुगेर हाल बढ्दो गतिमा ५२ को तहमा पुगेको छ। यस कारण निफ्राको सेयरभाउ बढ्दो गतिमा रहेको देखिन्छ। 

नोटः दोस्रो बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।