काठमाण्डौ । हाल विश्वभर विद्युतीय कारको माग निकै बढेको छ। थुप्रै कार निर्माता कम्पनीहरु इलेक्ट्रिक सेग्मेन्टमा प्रवेश गरिसकेका छन्। तर, कारपारखीहरु अझै पनि मारुती सुजुकीका इलेक्ट्रिक कारका लागि पर्खिरहेका छन्। किनकि उनीहरुले मारुतीबाट सस्तो इलेक्ट्रिक कारको अपेक्षा गरिरहेका छन्। 

मारुती ईभी सेग्मेन्टका बारेमा पनि धेरै सचेत देखिन्छ। अहिले कम्पनीले भारतीय बजारमा ६ वटा इलेक्ट्रिक कार लन्च गर्ने योजनामा काम गरिरहेको खुलासा भएको छ। 

विगतमा मारुती सुजुकीले आफ्नो सबैभन्दा महँगो कार मारुती इन्भिक्टो सार्वजनिक गरेको थियो। यस अवसरमा कम्पनीले आर्थिक वर्ष ३०–३१ सम्म बजारमा ६ वटा विद्युतीय कार ल्याउने योजना रहेको जानकारी दिएको थियो। 

मारुती सुजुकीले गत अटो एक्सपोमा आफ्नो पहिलो इलेक्ट्रिक कार कन्सेप्ट मारुती ईभीएक्स विश्वमा प्रस्तुत गरेको थियो। अब यो इलेक्ट्रिक एसयूभीको परीक्षण पनि सुरु गरिएको छ। जुन हालै पोल्यान्डको क्राकोमा रहेको चार्जिङ स्टेसनमा देखिएको थियो। जसका केही तस्बिर स्थानीय वेबसाइट अटोगेलेरियाले इन्टरनेटमा अपलोड गरेका छन्। 

यसअघि मारुतीले आफ्नो प्रसिद्ध ह्याचब्याक कार वागेन आरको इलेक्ट्रिक मोडलको पनि परीक्षण गरिसकेको छ।

मारुती ईभीएक्स एसयूभीको लुक र डिजाइन धेरै हदसम्म कन्सेप्ट मोडेलका रुपमा देखाइएको जस्तै छ। यसले ब्ल्याक्ड अफ ग्रिल र एल आकारको हेडल्याम्पका साथ अपराइट फ्रन्ट फेस दिइएको छ। यसमा फ्लेयर ह्विल आर्च र सी–पिलर माउन्टेड रियर डोर ह्यान्डल छन्। जब कि पछाडि स्लिम र्यापराउन्ड टेललाइटहरु र एउटा इन्टिग्रेटेड रुफ स्पोइलर दिइएको छ। 

यो इलेक्ट्रिक एसयूभीको भित्री भागका तस्बिर पनि बाहिर आएका छन्। जसले यसलाई स्क्वायर आकारको २–स्पोक स्टेयरिङ ह्विल दिइएको छ। जुन फ्री–स्ट्यान्डिङ डिजिटल डिस्प्ले हाउसिङ र इन्स्ट्रुमेन्ट क्लस्टरसँग आउँछ। यसमा रोटरी ड्राइभ मोड सेलेक्टर पनि देख्न सकिन्छ। यसबाहेक एसयूभीभित्र धेरै तार आदि पनि देखिएका छन्। यो प्रस्ट छ कि यो प्रोटोटाइप हाल पूर्ण परीक्षण मोडमा छ। जसमा समयअनुसार परिवर्तन गरिएको छ।

अटो एक्स्पोमा यो कन्सेप्ट प्रस्तुत गर्दै मारुती सुजुकीले यो एसयूभी सुजुकी मोटर कर्पोरेसनले डिजाइन र विकास गरेको जनाएको थियो। मारुती ईभीएक्स इलेक्ट्रिक कन्सेप्टमा कम्पनीले ६० केडब्ल्यूएच ब्याट्री प्याक प्रयोग गरिरहेको छ। जसले एकपटकको चार्जमा ५५० किलोमिटरसम्मको ड्राइभिङ दायरा दिन्छ। कारको लम्बाइ ४ हजार ३०० एमएम, चौडाइ १ हजार ८०० एमएम र उचाइ १ हजार ६०० एमएम छ। कार पूर्णतया नयाँ समर्पित इलेक्ट्रिक प्लेटफर्ममा निर्माण गरिएको छ। कम्पनीले यो इलेक्ट्रिक एसयूभी २०२५ सम्ममा बजारमा बिक्रीका लागि लन्च गर्नेछ।

मिडिया रिपोर्टका अनुसार मारुती सुजुकीको आधिकारिक प्रस्तुतिमा ४ वटा इलेक्ट्रिक कार देखाइएको थियो। जुन सम्भवतः बलेनो, फ्र्यांक्स, जिम्नी र ग्रान्ड भिटारामा आधारित मोडल हुन सक्ने बताइएको छ। यद्यपि यसबारे कम्पनीले अहिलेसम्म कुनै जानकारी दिएको छैन। अहिलेको प्रवृत्तिलाई हेर्दा कम्पनीले विद्युतीय पावरट्रेनसहितका चर्चित मोडलहरु बजारमा ल्याउने विश्वास गरिएको छ।

मारुती सुजुकीले आफ्नो गाडीको उत्पादन बढाउने तयारी गरिरहेको छ। कम्पनीले हरियाणाको खरखोडामा नयाँ प्लान्टको काम द्रुत गतिमा सुरु गरेको छ। जुन २०२५ सम्ममा तयार हुने अपेक्षा गरिएको छ। यस प्लान्टको वार्षिक उत्पादन क्षमता २ लाख ५० हजार युनिट हुनेछ। जसलाई भविष्यमा १० लाख युनिट पुर्याउने लक्ष्य राखिएको छ। कम्पनीले यस परियोजनामा १८ हजार करोड रुपैयाँ लगानी गर्ने योजना बनाएको छ। –एजेन्सी