काठमाण्डौ । एनआइसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच मर्जर हुने भएको छ । 

यी दुई संस्थाले आइतबार आपसमा गाभ्ने गाभिने प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

स्वदेशी लघुवित्त हाल सुनसरीको इटहरी ९ मा केन्द्रीय कार्यालय रही विभिन्न जिल्लामा सेवा दिइरहेको लघुवित्त संस्था हो भने एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमीटेड जाजरकोट जिल्लाको भेरी नगरपालिका वडानमबर ४ मा मुख्य कार्यालय रही विभिन्न जिल्लामा कार्यरत लघुवित्त संस्था हो । 

पछिल्लो समय राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई पूँजी वृद्धिका लागि हकप्रद जारी गर्न रोक लगाउँदै मर्जरको नीति लिएको छ । यही नीतिअनुसार पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने गाभिने समझदारी गरिरहेका छन् । यही क्रममा एनआइसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तबीच पनि मर्जर सम्झौता भएको हो । 

स्वदेशी लघुवित्त प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाईका अनुसार एनआइसी एशिया लघुवित्तसँग मर्जरको प्रारम्भिक समझदारीपत्रमा आइतबार नै दुवै संस्थाका संचालक समितिका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् । 

मर्जरपछि बन्ने संस्था अझै सवल हुने दाबी उनले गरेका छन् । 

स्वदेशीले मर्जर प्रक्रिया पूरा नभएसम्मका लागि दोश्रो बजारमा सेयर कारोबार रोक्का गरिदिन भन्दै आइतबार नै नेप्सेलाई पत्र पठाएको छ।

उता, एनआइसी एशिया लघुवित्तले पनि स्वदेशीसँगको मर्जर प्रक्रिया पूरा नभएसम्मका लागि सेयर कारोबार रोक्का राखिदिन भन्दै नेप्सेलाई पत्र लेखेको छ ।