काठमाण्डौ । एनएमबी बैंक लिमीटेडले करिब ७ वर्षपछि एफपीओ जारी गर्ने प्रक्रिया थालनीको तयारी गरेको छ । 

२०७३ पुस २४ गते सम्पन्न बैंकको २१ औं वार्षिक साधारणसभाले नेपाल राष्टबैंकको नीति अनुसार संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व संरचना मिलाउने उद्देश्यले एफपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सोही प्रस्ताव अनुसार यो बैंकले एफपीओका लागि आवश्यक प्रक्रिया सुरु गर्ने तयारी थालेको हो । 

हाल यो बैंकमा संस्थापक र सर्वसाधारण सेयरधनीको स्वामित्व संरचना ६०.०१ः ३९.९९ प्रतिशत रहेको छ । नेपाल राष्टबैंकको नीति अनुसार यो संरचनालाई बैंकले ५१ ः ४९ प्रतिशत बनाउन खोजेको हो । अघिल्लो वर्ष बैंकले एफएमओ नेदरल्याण्ड्सका प्रोमोटरहरुका लागि २५० रुपैयाँ प्रिमियम मूल्यमा एफपीओ निश्कासन गरेको थियो । 

बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले आफूहरुको क्यापिटल प्लान अन्तर्गत नै एफपीओको स्वीकृतिका लागि नियामकमा प्रक्रिया थाल्ने तयारी भइरहेको उल्लेख गर्दै भने ः १ करोड कित्ताको हाराहारीमा एफपीओ जारी गर्ने हाम्रो योजना छ । उनका अनुसार एफपीओ निश्कासनको प्रक्रिया नै सुरु नभइसकेको अवस्थामा मूल्य नै तोकिएको भन्ने खबर निराधार रहेको प्रष्ट पारे । एफपीओको मूल्य तोक्ने मापदण्ड अनुसार हिसाब गर्दा प्रति सेयर मूल्य ५ सयसम्म आउनसक्ला । उनले थपे ः तर यो अनुमान मात्र हो, प्रक्रियागत तोकिने मूल्य नै अन्तिम हुनेछ । 

१९ प्रतिशत बोनस सेयर र एफएमओको समेत एफपीओ जारी पछि यो बैंकको चुक्तापूँजी ६ अर्ब ४६ करोड पुगिसकेको छ ।  १ करोड बढी कित्ता एफपीओ जारी गरेपछि १ अर्ब बढी रकम चुक्तापूँजीमा गएर जम्मा हुनेछ । यो हिसाबले बैंकको चुक्तापूँजी साढे ७ अर्बको हाराहारीमा पुग्नेछ ।