काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज(सोमबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) सँग भेटघाट गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान गभर्नर–प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो । 

पछिल्लो समय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महत र सरकारको आर्थिक सल्लाहकारको रुपमा रहेको नेपाल राष्ट्र बैंकको नेतृत्व गर्ने गभर्नरबीच उति राम्रो सम्बन्ध छैन । सार्वजनिक समारोहहरुमा राष्ट्रबैंकले लिएको कतिपय नीतिका कारण अर्थतन्त्रमा समस्या आएको अर्थमन्त्री डा. महतले भन्ने गरेका छन् । 

अमेरिका र चीन भ्रमणमा जानुअघि एउटा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समेत राष्ट्रबैंकका कतिपय नीतिका कारण समस्या भएको दाबी गरेका थिए । 

समग्र अर्थतन्त्र नै राष्ट्र बैंकको भूमिका वा नीतिका कारण बिग्रिएको भ्रम फैलाउन खोजिएको निश्कर्षसहित पछिल्लो समय गभर्नरले आफ्नो सक्रियता बढाएका छन् ।

यही क्रममा अर्थतन्त्रको ताजा अवस्था, राष्ट्रबैंकले गर्नसक्ने काम लगायतका बिषयमा कुराकानी गर्न गभर्नर अधिकारी प्रधानमन्त्री निवास पुगेका हुन् । 

प्रधानमन्त्रीको स्वकीय सचिवालयका एक सदस्यले दिएको जानकारीअनुसार प्रचण्ड र गभर्नरबीच निकै लामो वार्तालाप भएको थियो । सो क्रममा प्रधानमन्त्री प्रचण्डले सेयर बजारका लगानीकर्ताले गरिरहेका गुनासो, निजी क्षेत्रका समस्याका विषय र समग्र अर्थतन्त्रको हालचालको विषयमा गभर्नरलाई सोधेका थिए । 

गभर्नरले पनि अर्थतन्त्रको ताजा अवस्थाको विषयमा प्रधानमन्त्रीलाई रिपोर्टिङ गरेका थिए । अर्थतन्त्रको बाह्य क्षेत्रमा राष्ट्रबैंकले लिएको सही नीतिका कारण निकै राम्रो सुधार भएको र आन्तरिक अर्थतन्त्रमा माग सिर्जना गर्ने काम गर्नुपर्नेमा जोड दिएका थिए । बजारमा माग बढाउने तथा लगानीकर्तामा आत्मविश्वास जगाउने सरकारका नीतिलाई सहयोग पुग्ने गरी मौद्रिक व्यवस्थापन गर्ने गभर्नरले वचन दिएका थिए । 

सो क्रममा गभर्नरले सेयर लगानीकर्ताहरुको जायज मागहरु सम्बोधन गर्ने तयारी भइरहेको, सेयर धितो कर्जामा लाग्ने क्याप समेत संसोधन हुने र ती विषयहरुलाई असोजभित्र संसोधित एकीकृत निर्देशिका जारी गरी सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिएका थिए । उनले सेयर लगानीकर्ताले उठाइरहेका माग तथा ती मागहरुलाई सम्बोधन गर्दा पर्नसक्ने प्रभावहरुको विषयमा अध्ययन गर्न एक समिति बनाइएको जानकारी दिंदै त्यसबाट सुझाव आएलगत्तै आवश्यक नीतिगत संसोधन गरिने जानकारी दिएका थिए । तर, गभर्नर अधिकारीले बजारमा चलाइएको हल्लाजस्तो सेयर धितो कर्जाको १२ करोडको क्याप खारेज नै गरिहाल्ने अवस्था नरहेको बताएका थिए । गभर्नर अधिकारी व्यक्तिगत हकमा १२ करोडको क्यापलाई यथावत राखेर संस्थागतको हकमा २५ देखि ३० करोडसम्मको क्याप कायम गरी अगाडि बढ्ने मनस्थितिमा देखिन्छन् । यही आशय उनले प्रधानमन्त्रीसँग समेत राखेका थिए । ‘कतिपय नीतिहरुलाई एकैपटक खुलाउँदा वा हटाउँदा त्यसबाट अर्थतन्त्रमा गम्भीर असर पर्नसक्नेतर्फ समेत सचेत हुनुपर्ने’ भन्ने आशय गभर्नरको रहेको स्रोत दाबी गर्छ । 

उच्च स्रोतकाअनुसार प्रधानमन्त्री दाहालले सेयर लगानीकर्ता मात्र नभई सबै क्षेत्रका लगानीकर्ताको मनोबल उकास्न आवश्यक रहेको, निजी क्षेत्रको साथ लिएर उत्पादकत्व बढाउनुपर्ने र बजार चलायमान बनाउने गरी बैंकहरुको ब्याजदर समेत एकल अंकमा झार्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । 

गभर्नर अधिकारीले सो क्रममा औसतमा असोजमा समेत ब्याजदर घटेकै देखिएको र यो क्रमले आगामी दिनमा निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको बताएका स्रोत दाबी गर्छ । ब्याजदर समेत बिस्तारै सस्तिएर कर्जा प्रवाह बढ्ने र लगानीको थप वातावरण बन्ने गभर्नरको ब्रिफिङ थियो । 

प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री डा. प्रकाशशरण महतको कामको विषयमा समेत गभर्नर अधिकारीको फिडब्याक लिएका थिए । अधिकारीले सो विषयमा भने खुलेर कुरा नगरेका स्रोत दाबी गर्छ ।