काठमाण्डौ । अधिकांश बैंक तथा बित्तीय संस्थाको नाफामा राम्रो प्रगति भइरहेको बेला एनआइडीसी क्यापिटल मार्केटको नाफामा भने पहिरो गएको छ । 

चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो कम्पनीको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.२६ प्रतिशतले पहिरो गएको हो । 

कम्पनीले शुक्रबार प्रकाशित गरेको बित्तीय विवरणका अनुसार अघिल्लो वर्षको दोश्रो त्रैमासमा ८ करोड ४१ लाख खूद नाफा आर्जन भएकोमा त्यो घटेर ५ करोड ४५ लाखमा झरेको छ । 

नाफा घटेसँगै कम्पनीको व्यवसायको खुम्चिएको छ । यहीका कारण अघिल्लो वर्ष ६ करोड रहेको खूद ब्याज आम्दानी यो वर्ष घटेर २ करोड ६० लाखमा झरेको छ। 

दोश्रो त्रैमाससम्म यो कम्पनीको चुक्तापूँजी २३ करोड ३५ लाख रहेको छ भने जगेडा कोषमा २३ करोड ७९ लाख रुपैयाँ रहेको छ । 

यो मर्चेन्ट बैंकले ९२ करोड ४७ लाख निक्षेप संकलन गरेको छ, जब कि अघिल्लो वर्ष ९१ करोड १५ लाख मात्र निक्षेप संकलन भएको थियो । यसैगरी, यो कम्पनीले ६० करोड ५९ लाख कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष दोश्रो त्रैमासमा ५५ करोड ३२ लाख मात्र कर्जा प्रवाह गरेको थियो।

यो कम्पनीको प्रति सेयर आम्दानीतर्फ पनि पहिरो गएको छ । अघिल्लो वर्ष यही अवधिमा प्रति सेयर आम्दानी ७२ रुपैयाँ ९ पैसा रहेकोमा यो वर्ष घटेर ४६ रुपैयाँ ६७ पैसा आइपुुगेको हो । 

यो मर्चेन्ट बैंकको प्रति सेयर नेटवर्थ २०१ रुपैयाँ ८६ पैसा, मूल्य आम्दानी अनुपात २५.७१ गुणा कायम भएको छ । यो कम्पनीलाई सनराइज बैंकले प्राप्तिको सम्झौता गरी प्रक्रिया सुरु भइसकेको छ ।