काठमाण्डौ । राष्ट्रिय स्तरका विकास बैंकहरुले एनआइसी एशियाले बैंकर्स संघको सहमतिविपरीत ब्याजदर बढाएर आफूहरुलाई समेत अप्ठ्यारो बनाएको निश्कर्ष निकाल्दै सो निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् । 

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको आइतबार दिउँसो बसेको बैठकले एनआइसी एशिया बैंकलाई ब्याजदर वृद्धिको निर्णय फिर्ता लिन आग्रह गर्ने निर्णय भएको हो । 

तत्काल अनौपचारिक रुपमा बैंकलाई निर्णय फिर्ता लिन आग्रह गर्ने निर्णय भयो । बैठकमा सहभागी एक बैंकरले भने–‘एकदुुई दिन हेर्ने, त्यसपछि पनि सो निर्णय सच्चिएन भने बैंकलाई विकास बैंकहरुले पनि असहयोग गर्नसक्ने र उसँगै कुनै पनि खालको कारोबार नगर्नेसम्मको निर्णय गर्न सकिने भनी सहमति भएको छ ।’ 

डेभलपमेन्ट बैंकर्स एशोसिएसनले पनि नेपाल बैंकर्स संघले झै केही दिनअघि साधारण बचत खातामा न्यूनतम साढे ७ प्रतिशत र मुद्धती बचमा १२ प्रतिशतसम्म ब्याजदर दिने भद्र सहमति गरेको थियो । एनबिएको सहमतिलाई आधार बनाउँदै विकास बैंकहरुले समेत गरेको सहमति तोडिने अवस्था आएको र वाणिज्य बैंकहरुको कारण आफूहरु समस्या परेको भन्दै यो बिषयलाई गम्भीरताका साथ लिन समेत विकास बैंकहरुले सामूहिक आग्रह गरेका छन् । 

विकास बैंकहरुले एनबिए र एनआइसी एशिया बैंकबीचको तानातानले समग्र बैकिङ उद्योगमा नकारात्मक सन्देश जाने काम भएको भन्दै यो समस्याको शीघ्र समाधान निकाल्नुपर्नेमा समेत जोड दिएका छन् । 

तर, डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष भरत ढकालले भने एनआइसी एशिया बैंकलाई अप्ठ्यारो परेको बेला उसलाई असहयोग गर्न नहुने आफ्नो धारणा रहेको बताएका छन् । कुनै बैंक विशेषसँग अर्को कुनै बैंक विशेषले कारोबार गर्ने वा नगर्ने भन्ने बिषय नितान्त उनीहरुको आफ्नो बिषय भएको उल्लेख गर्दै सबैले सहयोग गरेर समस्याको निराकरण खोज्नुपर्नेमा उनले जोड दिए ।

उनले आइतबार संघको बैठक एनआइसीकै बिषयमा नबसेको, बरु यो नियमित बैठक रहेको ढकालको जिकिर छ । 'नियमित बैठकको क्रममा साथीहरुले एनआइसी एशियाको कुरा उठाउनुुभएको मात्र हो ।'-उनले भने ।