काठमाण्डौ । एनआइसी एशिया बैंकका लगानीकर्ताको दुवै हातमा लड्डू हुने भएको छ । यो बैंकको संचालक समिति बैठकले आफ्ना लगानीकर्तालाई २६ प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि १.३७ नगद लाभांश र १५ प्रतिशत हकप्रद दिने घोषणा गरेको हो । 

शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित सूचनाका अनुसार बैंकको भदौ १० गते सम्पन्न २७९ औं संचालक बैठकले २६ प्रतिशत बोनस सेयर र  कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश तथा १५ प्रतिशत हकप्रद दिने निर्णय गरेको हो ।

दुवै  अफर आर्थिक वर्ष २०७२/७३ को नाफाबाट उपलब्ध गराइने बैंकले स्पष्ट पारेको छ । 

बोनस र हकप्रद दिने निर्णय स्वीकृतिका लागि बैंकको आगामी साधारणसभा र नेपाल राष्टबैंकमा पठाइनेछ । यी दुवै निकायबाट स्वीकृत भएपछि घोषित परिमाणको हकप्रद र बोनस लगानीकर्ताले पाउनेछन् । 

गत वर्ष एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०७१/७२ को नाफाबाट लगानीकर्तालाई ३९ प्रतिशत बोनस सेयर उपलब्ध गराएको थियो । 

यो बैंकले आब २०७२/७३ को अवधिमा १ अर्ब ७ करोड खूद नाफा आर्जन गरेको छ । बैंकको हाल चुक्तापूँजी ४ अर्ब ५७ करोड रुपैयाँ छ । २६ प्रतिशत बोनस र १५ प्रतिशत हकप्रद सेयरको व्यवस्थापनपछि बैंकको चुक्तापूँजी ६ अर्ब ६२ करोड पुग्ने बताइएको छ ।