काठमाण्डौ । एनआईसी एशिया बैंकले गत आ.व. २०७७/७८ मा व्यवसायमा ऐतिहासिक वृद्धि गरी अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ । 

बैंकले आ.व. २०७७/७८ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको छ भने बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू पनि उत्साहपूर्ण रहेका छन् । 

कोभिड–१९ को महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बाबजुद पनि आ.व. २०७७/७८ मा व्यवसायतर्फ हासिल गरेको वित्तीय नतिजा नेपालको समग्र बैंकिङ्ग क्षेत्रकै ऐतिहासिक र हालसम्मको सर्वाधिक उच्च हो । 

आ.व. २०७७/७८ मा यस बैंकले कर्जातर्फ करिब रू. ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम रू. २६५ अर्ब पुर्याउन सफल भएको छ । जुन २७ वटै वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हो । 

मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब रू. ७१९ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको सर्वाधिक उच्च (१२.६६ प्रतिशत) बजार हिस्सा रहेको छ । आर्थिक वर्ष ०७७/७८ मा वाणिज्य बैंकहरुमा भएको कुल कर्जा वृद्धिको औसत प्रति बैंक कर्जा वृद्धि रकम करिब रू. २४.१५ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ३.७६ गुणा रहेको छ ।  

यसैगरी बैंक स्वदेशी मुद्राको निक्षेपतर्फ करिब रू. ९० अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन रू. २९८ अर्ब पुर्याउन बैंक सफल भएको छ ।  जुन २७ वटै वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हो । मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब रू. ६५५ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १३.५८ प्रतिशत रहेको छ । 

आर्थिक वर्ष ०७७/७८ मा वाणिज्य बैंकहरुमा भएको निक्षेप वृद्धिको औसत प्रतिबैंक निक्षेप वृद्धि करिब रू. २१.७३ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ४.१४ गुणा रहेको छ । 

बैंकले आ.व. २०७७/७८ मा रू. ३ अर्ब २५ करोड खुद मुनाफा आर्जन गरेको छ भने वार्षिक प्रतिशेयर आम्दानी रू.२८.११ पुर्याएको छ । 

त्यसैगरी बैंकको स्वपुँजीमा प्रतिफल(आरओई) १७.१४ प्रतिशत रहेको छ, जुन वाणिज्य बैंकहरूमध्ये निकै राम्रो हो । अघिल्लो आ. व. २०७६/७७ मा समेत यस बैंकको आरओई वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढीे थियो ।

साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अंगिकार गरेको फलस्वरुप कोभिड–१९ को विषम परिस्थिति तथा चुनौतिका बावजुद कर्जा असुलीतर्फ पनि निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई आ.व. २०७६/७७ को अन्त्यमा ०.७५ प्रतिशत रहेको निष्कृय कर्जालाई आ.व. २०७७/७८ को चौथो त्रैमाससम्ममा ०.४६ प्रतिशतमा झार्न बैंक सफल भएको छ । 

साथै, गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ । साना तथा मझौला र कृषि कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरूभन्दा यस बैंक अग्रणी स्थानमा रहेको छ । 

बैंकले अवलम्बन गरेको जोखिम व्यवस्थापन रणनीतिको परिणामस्वरूप बैंकका प्रमुख १० ग्राहक महानुभावहरूको कुल कर्जा अंश बैंकको कुल कर्जाको ३.७ प्रतिशत मात्रै रहेको छ र सो समग्र बैंकिङ्ग क्षेत्रकै सबैभन्दा उत्कृष्टमा पर्दछ । साथै, बैंकको कर्जा जोखिम अत्यन्त न्यून रहेको छ । यस बैंकको कुल कर्जामा रू. ५ करोडभन्दा कम सीमा भएका कर्जाहरूको अंश ९०.५६ प्रतिशत रहेको छ । बैंकले निक्षेपतर्फ पनि स–साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्बन गरेको छ ।

बैंकले आ.व. २०७७/७८ मा ४६६,४९५ नयाँ ग्राहक संख्या थप गर्दै २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजारभन्दा बढी कर्जा खाता गरी बैंकको कुल २८ लाख २७ हजार भन्दा बढी खाताहरूमार्फत ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । यस बैंकको ग्राहक संख्या निजी क्षेत्रका वाणिज्य बैंकहरूको तुलनामा सर्वाधिक उच्च रहेको छ । 

देशको कुल जनसंख्यामध्ये २० वर्ष उमेर समूह देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको दाबी गरिएको छ । 

बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आ.व. २०७७/७८ को तेस्रो त्रैमासमा कर्जा, निक्षेप, स्व–पुँजीमा प्रतिफल, शाखा कार्यालय, र एटिएममा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान ओगट्न सफल भएको छ । साथै सोही अवधिमा खुद ब्याज आम्दानीतर्फ अन्य वाणिज्य बैंकहरूमध्ये दोस्रो स्थानमा रहेको छ भने चल्ती तथा बचत निक्षेप(कासा)मा तेस्रो स्थानमा रहेको छ र खुद नाफा एवं प्रति शेयर आम्दानीमा चौथो स्थान ओगट्न सफल भएको छ ।

डिजीटल फ्रस्टको रणनीति अङ्गीकार गर्दै बैंकले डिजिटल पूर्वाधारहरूमा पर्याप्त लगानी गरी एक मूलभूत आधारशिला तयार गरी आफ्ना बैंकिङ्ग सेवा तथा सुविधाहरू जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प तथा लाइफ स्टाइल बैंकिङ्गको अवधारणा अङ्गीकार गरेको छ । फलस्वरुप आ.व. २०७७÷७८ को अन्त्यमा बैंकको भौतिक र डिजिटल कारोबारको अनुपात ७९ः२१ पुगेको छ । जुन आ. व. २०७६/७७ मा ७०ः३० रहेको थियो । बैंकको डिजिटल कारोबारको मिश्रण नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक उच्च रहेको प्रक्षेपण रहेको छ । 

त्यसैगरी, बैंकले आ. व. २०७७/७८ मा मोबाइल बैंकिङ्गमा २ लाख ८९ हजार (२५ प्रतिशत) ले ग्राहकहरू वृद्धि गरी समग्र बजारको वृद्धिमा भएको बजार हिस्साको करिब १३ प्रतिशत हिस्सासहित कुल १४ लाख २६ हजार प्रयोगकर्ता पुर्याउन सफल भएको छ । 

इन्टरनेट बैंकिङ्ग ग्राहकहरू २१ हजार (१९ प्रतिशत) ले वृद्धि गरी समग्र बजारको वृद्धिमा भएको बजार हिस्साको करिब २४ प्रतिशत सहित कुल १ लाख ३३ हजार प्रयोगकर्ताहरू पुर्याउन बैंक सफल भएको छ । 

डेबिट कार्डतर्फ २ लाख ४५ हजार (२८ प्रतिशत) ले प्रयोगकर्ताहरू वृद्धि गरी समग्र बजारको वृद्धिमा भएको बजार हिस्साको करिब २० प्रतिशत सहित कुल ११ लाख ३० हजार पुर्याउन बैंक सफल भएको छ। 

त्यसैगरी क्यूआर मर्चेन्टतर्फ ४० हजार (२६८ प्रतिशत) ले वृद्धि गरी समग्र बजारको वृद्धिमा भएको बजार हिस्साको करिब १४.५२ प्रतिशत सहित कुल ५५ हजार पुर्याउन बैंक सफल भएको छ । 

एनआइसी एशिया बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरूको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरू मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान आदि तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति नरहेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा समेत शाखा सञ्जाल विस्तार गरी वित्तीय पहुँच विस्तारमा समेत गर्न योगदान गरेको देखिएको छ । 

नियमनकारी निकायले कुल कर्जा प्रवाहको ५ प्रतिशत कर्जा देशका विपन्न वर्गलाई प्रवाह गर्नुपर्ने व्यवस्था गरेकोमा यस बैंकले गत आ.व. मा कुल कर्जा रकमको ७.४ प्रतिशत अर्थात् करिब रू. २० अर्ब कर्जा प्रवाह गरी सीमान्तकृत जनसंख्याको जीवनस्तर उकास्नको लागि अनुकरणीय तवरले आफ्नो उत्तरदायी भूमिका निर्वाह गरेको छ । 

कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामिण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्नो ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ । बैंकले हालसम्म ३५६ शाखा, ४७१ एटिएम, ७० विस्तारित काउन्टर तथा ८१ शाखा रहित बैंकिङ्ग जस्ता सञ्जालमार्फत सेवा दिइरहेको छ । 

त्यसैगरी देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्म प्रत्यक्ष र अप्रत्यक्ष गरी रू. १५ अर्ब ७३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको छ । 

सर्वसाधारण शेयरधनीको सुरुवाती एक कित्ता पब्लिक शेयरको मूल्य हाल रु १३ हजार ६ सय ६२ हुन पुगेको छ, जुन सुरुवाती लगानी रकमको करिब १ सय ३६ गुणाको वृद्धि हो ।