काठमाण्डौ । एनआइसी एशिया बैंकले सम्भवतः बिहीबार(भोलि) तीन वर्षदेखि प्रतिक्षारत सेयरधनीलाई सुखद समाचार दिनेछ । 

यो बैंकको सञ्चालक समितिको बैठक भोलि(बिहीबार) आह्वान गरिएको छ । 

नेपाल राष्ट्रबैंकले एनआइसी एशियाबाट पेश भएको आर्थिक वर्ष २०७९–८० को वासलातलाई प्रारम्भिक स्वीकृति दिइसकेको छ । स्वीकृत वासलातको अधीनमा रही एनआइसी एशिया बैंकको भोलिको सञ्चालक समिति बैठकले गत तीन वर्षदेखि लाभांश नपाएका लगानीकर्तालाई सुखद खबर दिनसक्नेछ । 

एक सञ्चालककाअनुसार भोलि(बिहीबार)को सञ्चालक समिति बैठकमा लाभांश सम्बन्धी निर्णय हुनसक्ने प्रवल सम्भावना छ । 

एनआइसी एशिया बैंकको पूँजीकोष टाइट भएका कारण राष्ट्रबैंकले कारबाही गरी लाभांश बाँड्न नदिँदा तीन वर्षदेखि लगानीकर्ताको हात रित्तो छ । यो पटक भने राष्ट्रबैंकले एनआइसी एशियालाई क्षमताअनुसारकै लाभांश वितरणको निर्णय गर्ने प्रारम्भिक स्वीकृति दिइसकेको छ । 

एनआइसी एशिया बैंकसँग आफ्ना सेयरधनीलाई ३१ प्रतिशत हाराहारीमा लाभांश वितरण गर्नसक्ने क्षमता छ । 

तर, उच्च स्रोतहरुकाअनुसार बैंकले २५ देखि २९ प्रतिशतसम्म लाभांश घोषणा गर्नेछ । 

लाभांशमा यो बैंकले बोनस सेयरलाई प्राथमिकता दिने पनि स्रोतले दाबी गरेको छ । 

हाल एनआइसी एशिया बैंक दोश्रो बजारमा मूल्यको हिसाबले ‘लिडर बैंक’ हो । यो बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ८१९ रुपैयाँ रहेको छ ।