काठमाण्डौ । नेपाल राष्ट्रबैंकले तोकेको पूँजीवृद्धिको समय नजिकिदै जाँदा बैंक तथा बित्तीय संस्थाहरुले आफ्ना सेयरधनीलाई बोनस सेयर र हकप्रद वितरणको लहर नै चलाएका छन् । 

यही क्रममा एनआइसी एशिया बैंकले समेत आफ्ना लगानीकर्तालाई बोनस सेयर र हकप्रद सेयर निश्कासन गर्ने भनी गरेको घोषणा(प्रस्ताव)लाई नियामक नेपाल राष्ट्रबैंकले स्वीकृति प्रदान गरेको छ । 

बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि एनआइसी एशिया बैंकका सेयरधनीले बोनस सेयर लगत्तै हकप्रदको डबल अफर प्राप्त गर्नेछन् । 

एनआइसी एशिया बैंकले आफ्ना लगानीकर्तालाई २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो । सोही प्रस्ताव नेपाल राष्ट्रबैंकले भदौ २० गते स्वीकृत गरिदिएको नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित एक सूचनामा जनाइएको छ । बोनस सेयर आर्थिक वर्ष २०७२ /७३ को नाफाबाट वितरण गर्न लागिएको हो ।  

बोनस सेयरको वितरण र व्यवस्थापनपछि कम्पनीले सेयरधनीलाई १५ प्रतिशत हकप्रद दिने घोषणा गरेको थियो । यो प्रस्तावलाई समेत नेपाल राष्ट्रबैंकले स्वीकृति दिएको छ । यसको अर्थ अब बोनस सेयर पाएलगत्तै एनआइसी एशियाका लगानीकर्ताले १५ प्रतिशत हकप्रद पनि पाउनेछन् । 

बोनस सेयर वितरणका लागि कम्पनीको भदौ २६ गते बसेको बोर्ड बैठकले असोज ५ गतेदेखि १८ गतेसम्मलाई बुक क्लोजको मिति तोकेको छ । यो बैंकको १९ औं वार्षिक साधारणसभा आगामी असोज १८ गते तोकिएको छ । 

यो बैंकले आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब ७ करोड नाफा आर्जन गर्न सफल भएको थियो । यो बैंकको चुक्तापूँजी ४ अर्ब ५७ करोड रहेको छ भने सञ्चित कोषमा २ अर्ब ८७ करोड रहेको छ । गत आबको चौथो त्रैमासमा यो बैंकले १ अर्ब  ३४ करोड संचालन नाफा कमाएको छ । 

संभावित जोखिम व्यवस्थापनको कोष समेत १८ करोड ३० लाखबाट बढाएर ३२ करोड ३२ लाख बनाएको छ । यो बैंकले निस्क्रिय कर्जा दरमा पनि निकै राम्रो सुधार गरेको छ । २.०७  प्रतिशत रहेको निस्क्रिय कर्जा यो वर्ष घटाएर ०.८२ प्रतिशतमा झारिएको छ । 

एनआइसी एशिया बैंकको प्रतिसेयर आम्दानी २८.४ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १९७.६८ रुपैयाँ पुगेको छ । मूल्य–आम्दानी अनुपात २८.१० रहेको छ ।