काठमाण्डौ । शाखा सञ्जाल बिस्तारमा आक्रामक एनआइसी एशियाले शाखारहित बैकिङ सेवाको आक्रामक सुरुवात गरेको छ । 

ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्न तथा गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणका लागि बैंकले एकसाथ तीन ठाउँबाट शाखारहित बैंकिङ्ग सेवाको औपचारिक सुरुवात गरेको हो ।

बैंकले यही भाद्र २३ गते इलामको सन्दकपुर गाउँपालिकास्थित देउराली बजार, भाद्र २४ गते झापाको बुद्धशान्ति गाउँपालिकास्थित शान्तिनगर गडी गाउँबजा, र इलामकै रोङ्ग गाउँपालिकास्थित कुटी डाँडाबजारबाट ३ वटा शाखारहित बैंकिङ्ग सेवा एकसाथ संचालनमा ल्याएको छ । 

देउराली बजार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सन्दकपुर गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीले, शान्तिनगर गडी गाउँ बजार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बुद्घशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल र कुटीडाडाँ बजार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन रोङ्ग गाउँपालिका उपाध्यक्ष चन्द्रकला राई(बुढाथोकी)ले गरेका थिए । 

बैंकले उपरोक्त शाखारहित बैंकिङ्ग सेवा संचालनका लागि बैंक प्रतिनिधिको रुपमा देउराली बजारमा शाखारहित बैंकिङ्ग कार्यालयका लागि सोमति सुनचिउरी, शान्तिनगर गडी गाउँ बजारमा शाखारहित बैंकिङ्ग कार्यालयका लागि कमल भट्टराई र कुटीडाडाँ बजारमा शाखारहित बैंकिङ्ग कार्यालयका लागि यादब बराललाई नियुक्त गरिएको बैंकले जनाएको छ । 

यस सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिको मार्फतबाट बैंकिङ सेवा लिन सक्नेछन् । साथै, सो सेवाबाट बैंकिङ्ग कारोबारका लागि स्थानीयले लामो दुरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीयले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा तथा रकम झिक्ने र पठाउने, मोवाइल रिचार्ज गर्न, उपयोगी सेवा(जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिने बताइएको छ।

यी ३ वटा शाखारहित बैंकिङ्ग सेवाहरुसहित हाल यस एनआइसी एशिया बैंकले आफ्ना १२० शाखाहरु, ४ एक्टेन्सन काउन्टरहरु र ९० एटिएम सञ्जालहरु मार्फत देशभर सेवा प्रदान गरिरहेको छ ।