काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ उल्लेख्य प्रगति गरेको छ । 

अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा चालु आबमा बैंकले खूद नाफा ६५.८५ प्रतिशतले वृद्धि गरेको हो । 

बैंकले शुक्रबार जारी गरेको बित्तीय विवरणका अनुसार अघिल्लो आबको पहिलो त्रैमासमा १५ करोड ७३ लाख मात्र खूद नाफा रहेकोमा यो  वर्ष बढेर २६ करोड १० लाख पुगेको हो । 

अघिल्लो वर्ष ३७ करोड ३१ लाख रुपैयाँमा सीमित रहेको खूद ब्याज आम्दानी चालु आबमा ५६ करोडको उचाईमा पुगेको छ । 

यो बैंकको चुक्तापूँजी ५ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । जगेड कोषमा २ अर्ब १८ करोड रुपैयाँ छ ।

अघिल्लो आबको पहिलो त्रैमासमा ५३ अर्ब ८४ करोड निक्षेप संकलन गरेको यो बैंकले चालु आबको सोही अवधिमा ७२ अर्ब ४७ करोड निक्षेप संकलन गरेको छ । यस्तै, ४४ अर्ब २४ करोड कर्जा प्रवाह गरेकोमा यो वर्ष ६१ अर्ब १ करोड कर्जा प्रवाह गर्न सफल भएको छ । 

अघिल्लो आबको पहिलो त्रैमासमा १.८३ प्रतिशतमा रहेको निस्क्रिय कर्जालाई घटाएर ०.९० प्रतिशतमा झारिएको छ भने बैंकको प्रति सेयर आम्दानी १७.९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३७.५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.७८ गुणा कायम भएको छ ।