पोखरा । कास्कीको हेम्जामा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सम्पन्न १० औँ वार्षिक साधारणसभा (एजीएम)बाट लाभांश अनुमोदन भएको छ। 

पोखरामा सम्पन्न सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सञ्जीव सुब्बाद्वारा पेस गरिएको आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरिएको छ। सभामा सञ्चालक समितिबाट प्रस्ताव भएबमोजिम हाल कायम चुक्तापुँजी रु. ६५ करोड ५८ लाख ६२ हजार ८६२ को १० प्रतिशतले हुन आउने रकम रु. ६ करोड ५५लाख ८६ हजार २८६ बराबरको बोनस सेयर जारी गर्ने प्रस्तावसमेत पारित भएको छ। 

सभामा संस्थाको रजिस्टर्ड (केन्द्रीय) कार्यालय रहने ठेगानासम्बन्धी संस्थाको प्रबन्धपत्रको दफा २(१) र नियमावलीको नियम २ संशोधन गर्ने सम्बन्धि विशेष प्रस्तावसमेत पारित भएको छ।

एनएमबि लघुवित्तले अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने–गाभिने वा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गरी मूल्यांंकनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने गाभ्ने–गाभिने वा प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नेलगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्तावसमेत पारित भएको कंपनी सचिव सुर्य थापाले जानकारी दिए।