काठमाण्डौ । आवेदन दिने अन्तिम समयसीमा पार हुन ५ कार्यदिन मात्र बाँकी छँदा समेत एनएमबी बैंकको एफपीओ बिक्री भएको छैन । 

बैंकले निश्कासन गरेको ३ अर्ब ८० करोड मूल्यको एफपीओमा शुक्रबारसम्म २ अर्ब ५८ करोडको हाराहारीमा आवेदन परेको छ । देशभरबाट हालसम्म ६३ हजार ७ सयको हाराहारीमा आवेदनहरु परेका छन् । 

बैंकले जेठ ३० गतेदेखि प्रिमियमसहित प्रतिकित्ता ३३३ रुपैयाँको दरले एफपीओको बिक्री खुलाएको थियो । कुल १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपीओ निश्कासन गरिएकोमा शुक्रबार साँझसम्म ७६ लाख भन्दा केही बढी कित्ता मात्र बिक्री भएको छ । 

बिक्री प्रबन्धक नागरिक लगानीकोषका अनुसार यो बैंकको एफपीओ करिब ३३ प्रतिशत अझै बिक्री हुन बाँकी रहेको छ । 

यो बैंकले पहिलो चरणमा एफपीओमा बिक्री नभएपछि ढिलोमा असार  २८ गतेसम्म खरीद गर्न पाइने गरी समयसीमा बढाइसकेको छ । 

पहिलो ४ दिनमा सर्वसाधारणबाट सबै एफपीओका लागि आवेदन नपरेपछि संस्थागत लगानीकर्ताका लागि समेत बिक्री खुलाइएको थियो । तर, संस्थागत लगानीकर्ताले समेत दोश्रो बजारमा बैंकको मूल्य घट्दो क्रममा रहेका कारण अपेक्षित चासो देखाएनन् । तर, बिहीबार बजार बढ्दा यो कम्पनीको दोश्रो बजारमा सेयर मूल्य केही बढेर प्रतिकित्ता ३५२ रुपैयाँ पुगिसकेको छ । आगामी साता समेत बजार बढ्ने अपेक्षा गरिएका कारण यो मूल्य अझै बढ्न सक्छ । त्यसो भयो भने एनएमबी बैंकको एफपीओमा अन्तिम दिनहरुमा राम्रै आवेदन पर्ने संभावना समेत देखिन्छ ।