काठमाण्डौ । एनएमबी बैंक लिमीटेडको एफपीओमा मंगलबार मध्यान्हसम्म १ अर्ब ९५ करोड रुपैयाँ बढीको आवेदन परेको छ ।
तीन अर्ब ८० करोड रुपैयाँको एफपीओमा ५५ हजार आवेदकले आवेदन दिएका हुन् । यसको अर्थ एफपीओमा कुल मागको ५१ प्रतिशत आवेदन परेको छ ।
एफपीओमा आइतबारसम्म सर्वसाधारणले मात्र आवेदन दिन पाएका थिए भने सोमबारदेखि संस्थागत लगानीकर्ताका लागि समेत खुल्ला गरिएको हो ।
बैंकले १०० रुपैयाँ अंकित दरको साधारण सेयरमा २३३ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता ३३३ रुपैयाँको दरले १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता साधारण सेयरको अतिरिक्त निश्कासन गरेको हो ।
एफपीओका लागि ढिलोमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ।
यो बैंकले २०७४ बैशाख २० गते नै एफपीओ निश्कासनका लागि आवेदन दिएको थियो । तर, एफपीओ मूल्यमा अण्डरराइट गर्नेसँग कुरा नमिल्दा तथा राष्ट्रबैंकको नीतिगत व्यवस्थाका कारण समेत लामो समय रोकिएको थियो ।
एफपीओबाट बैंकको चुक्तापूँजीमा १ अर्ब १४ करोड थप हुनेछ भने प्रिमियम बापत संकलन हुने २ अर्ब ६६ करोड जगेडाकोषमा जम्मा हुनेछ ।
हाल यो बैंकको चुक्तापूँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । एफपीओपछि चुक्तापूँजी ७ करोड ६० लाखको उचाईमा पुुग्नेछ । यस्तै, एफपीओपछि सर्वसाधारण सेयरधनीको स्वामित्व अनुपात हालको ३९.९९ प्रतिशतबाट वृद्धि भई ४९ प्रतिशत पुुग्नेछ । हाल ६०.०१ प्रतिशत रहेको संस्थापक सेयर होल्डिङ घटेर ५१ प्रतिशतमा झर्नेछ ।
यो बैंकको एफपीओलाई इक्रा नेपालले इक्रा एनपी आइपीओ ग्रेड ३ को रेटिङ दिएको छ । यसले बैंकको अवस्था औसत रहेको भन्ने जनाउँछ र यस्तो कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण मानिँदैन ।
यो बैंकको २०७३ पुस २४ गते सम्पन्न वार्षिक साधारणसभाले एफपीओबाट पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको थियो । त्यही निर्णयको जगमा टेक्दै एफपीओ निश्कासनको प्रक्रिया बैंकले सुरु गरेको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago