काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको आज सम्पन्न १५ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को लाभांश अनुमोदन गरेको छ। 

सभा काठमाण्डौको पानीपोखरीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट बिहान १० बजेदेखि सुरु भएको थियो। सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गरेको हो। अनुमोदिन लाभांशमा १० प्रतिशतले हुन आउने १० करोड ९६ लाख ३७ हजार ५५० रुपैयाँबराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख ७० हजार ३९७ रुपैयाँबराबरको नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ) रहेका छन्। 

कम्पनीको हालको चुक्तापुँजी १ अर्ब ९ करोड ६३ लाख ७५ हजार ५०० रुपैयाँ रहेको छ। बोनस सेयर जारी पुँजी कम्पनीको चुक्तापुँजी १ अर्ब २० करोड ५७ लाख रुपैयाँ बढी पुग्नेछ।

सोही सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि छलफल गरी अनुमोदन गरेको छ। 

आव २०७६/७७ को असार मसान्तसम्म कम्पनीको कुल बीमा शुल्क आम्दानी १ अर्ब ८० करोड ७ लाख रुपैयाँ छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८.०८ प्रतिशतले बढी हो। 

कम्पनीको खुद बीमा शुल्क आम्दानी भने ६४ करोड ६४ लाख रुपैयाँ र खुद नाफा २६ करोड २६ लाख रुपैयाँ रहेको छ।