काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२.६३ प्रतिशत नगद लाभांश रहेका छन्।

बोनस सेयर जारीपछि कम्पनीको जारी तथा चुक्तापुँजी वृद्धि भएर १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो चैत ६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत २ गते (चैत ३ गते फागु पूर्णिमाको सार्वजनिक बिदा, चैत ४ गते शुक्रबार र चैत ५ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।