काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंक लिमीटेडले यो वर्ष आफ्ना सेयरधनीलाई बढीमा १० प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ । 

यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ६० करोड २५ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ । नाफाको यो दर चौथो त्रैमाससम्म पनि कायमै रहेमा र नियामकीय व्यवस्था वा थप कुनै प्रयोजनका लागि अतिरिक्त दायीत्वहरु सिर्जना नभए यो वर्ष बैंकको वितरणयोग्य मुनाफा ८० करोड ३४ लाखको हाराहारीमा पुग्नेछ । हाल यो बैंकको चुक्तापूँजी ८ अर्ब ८ करोड रहेकोले यो वर्षको नाफाबाट बैंकले ९.९३ प्रतिशत(अधिकतम १० प्रतिशत)सम्म लाभांश वितरण गर्नसक्ने देखिएको हो । 

समीक्षा अवधिमा बैंकले खूद नाफा बढाएर १ अर्ब १४ करोड पुर्याएको छ। यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ५४.६५ प्रतिशतले बढी हो । 

अघिल्लो वर्ष १ अर्बमा सीमित संचालन मुनाफा  ६५.३१ प्रतिशतले बढी १ अर्ब ६५ करोडको उचाईमा पुगेको छ भने १ अर्ब ३९ करोडमा सीमित खूद ब्याज आम्दानी ५०.९७ प्रतिशतले बढेर २ अर्ब ११ करोडको उचाइृमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले ५६ अर्ब ६ करोड निक्षेप संकलन गरी ५१ अर्ब ५२ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकले निक्षेप १६.६७ प्रतिशत र कर्जा २६.०४ प्रतिशतले बढाएको हो ।

अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म २ अर्ब ७० करोडमा सीमित रिजर्ब बढेर यो वषृ ३ अर्ब  १९ करोड पुगेको छ भने १.७७ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा केही बढेर १.८६ प्रतिशत पुगेको छ । 

समीक्षा अवधिमा बैंकको कस्ट अफ फण्ड ७.९८ बाट घटेर ७.६६ प्रतिशतमा सीमित बन्न पुगेको छ भने ११.६ प्रतिशत रहेको आधारदर घटेर १०.६९ प्रतिशतमा सीमित भएको छ । 

अघिल्लो वर्ष यही अवधिमा १२.१७ रुपैयाँमा सीमित वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) ५४.६५ प्रतिशतले बढेर १८.८२ रुपैयाँ कायम भएको छ । 
यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४८.१० रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.२६ गुणा कायम भएको छ ।