काठमाण्डौ । लामो समयदेखि अनेकन समस्यासँग जुध्दै अगाडि बढेको नेपाल क्रेडिट एण्ड कमर्स बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्ममा १ अर्ब ७ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको भन्दा नाफा घटेको हो । अघिल्लो वर्ष यही अवधिमा एनसीसी बैंकको खूद नाफा १अर्ब ३२ करोडको उचाईमा पुगेको थियो । 

यो अवधिमा बैंकले १अर्ब ४० करोड संभावित जोखिम व्यवस्थापनकोषबाट राइट ब्याक गरेको छ । यति धेरै रकम राइट ब्याक गर्दा समेत बैंकको नाफामा संकुचन आउनु राम्रो संकेत होइन । 

बैंकको संचालन मुनाफा भीषण पहिरो गएको छ । अघिल्लो वर्ष ४० करोड ६५ लाख रहेको यस्तो मुनाफा घटेर २० करोड ४२ लाखमा सीमित बन्न पुगेको हो । 

अनेकन झमेला, उल्झन र मुद्धामामिलामा मिलाउँदैमा व्यवस्थापनलाई भ्याईनभ्याई भएको बिषम परिस्थितिका कारण बैंकले व्यवसाय बिस्तार समेत गर्न सकेन । जसका कारण  खूद ब्याज आम्दानी १ अर्ब ७२ करोडबाट घटेर १ अर्ब ६२ करोडमा सीमित बन्न पुगेको छ । 

समीक्षा अवधिमा एनसीसी बैंकले ६३ अर्ब ३२ करोड निक्षेप संकलन गरी ५५ अर्ब १ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ५८ अर्ब ७९ करोड निक्षेप संकलन गरी ४८ अर्ब १६ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले अघिल्ललो वर्षसम्म २ अर्ब ५६ करोडमा सीमित रिजर्बलाई केही बढाई २ अर्ब ८६ करोडको उचाई चुमाएको छ भने ४.८० प्रतिशत रहेको खराब कर्जाको अनुपातलाई घटाएर ३.८९ प्रतिशतमा झार्ने सफलता पाएको छ । 

समीक्षा अवधिमा एनसीसी बैंकको कस्ट अफ फण्ड ८.२७ प्रतिशत, सीडी रेसियो ७६.७६ प्रतिशत, बेस रेट ११.९२ प्रतिशत, इक्वीटीमा प्रतिफल १३.९५ प्रतिशत, सम्पत्तिमा प्रतिफल १.४५ प्रतिशत कायम भएको छ । 

बैंकको प्रतिसेयर आम्दानी २२.९१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.२१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.९१ गुणा कायम भएको छ ।