काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले बिग्रिएको वित्तीय स्वास्थ्यमा तीव्र सुधार गर्न थालेको छ। 

केही वर्षअघि मात्र डूब्ने अवस्थामा पुगेको यो बैंकले आफूलाई सुधार गर्दै चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब १६ करोड खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ३१.०८ प्रतिशतले बढी हो । 

बैंकले यो अवधिमा ८३ करोड ९९ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ। मुनाफा दर चौथो त्रैमाससम्म पनि यही कायम हुने र नियामकीय व्यवस्थाका लागि थप दायीत्वहरु सिर्जना भएनन् भने बैंकले १ अर्ब १२ करोडको हाराहारीमा वितरणयोग्य मुनाफा आर्जन गर्ने देखिन्छ । 

हाल यो बैंकको चुक्तापुँजी ७ अर्ब १ करोड रुपैयाँ रहेको छ। तेश्रो त्रैमासमा आर्जन भएको वितरणयोग्य मुनाफालाई यो पूँजीमा गणना गर्दा बैंकले यो वर्ष १५ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने देखिन्छ । तर, बैंकले बोनस सेयर वितरण गरेरै चालु आर्थिक वर्षभित्रै पूँजी ८ अर्ब पुर्याउनुपर्ने भएकोले त्यो अवस्थामा हिसाब गर्दा १३ प्रतिशत भन्दा माथि नै लाभांश दिनसक्ने देखिन्छ।

बैंकले १ अर्ब २४ करोडमा सीमित संचालन मुनाफा बढाएर १ अर्ब ६३ करोडको उचाई चुमाएको छ भने १ अर्ब ४४ करोडमा सीमित खूद ब्याज आम्दानीमा ५४.७६ प्रतिशतको छलाङ मार्दै २ अर्ब २३ करोडको उचाई चुमाएको छ । 

समीक्षा अवधिमा बैंकले ६१ अर्ब ४५ करोड निक्षेप संकलन गरी ५६ अर्ब ८० करोड बढी कर्जा परिचालन गरेको छ। 

बैंकको रिजर्बमा भने संकुचन आएका अघिल्लो वर्षसम्म ३ अर्ब २८ करोड रहेको रिजर्ब घटेर ३ अर्ब २७ करोडमा सीमित भएको हो । 

बैंकले अघिल्लो वर्षको यही अवधिमा ३.९७ प्रतिशतमा रहेको खराब कर्जालाई घटाएर ३.२६ प्रतिशतमा सीमित गर्ने सफलता पाएको छ भने ८.५५ प्रतिशत रहेको कस्ट अफ फण्ड घटेर ७.९४ प्रतिशतमा सीमित भएको छ। 

नाफा बढे पनि चुक्तापूँजीमा भएको वृद्धि अत्यधि रहेकोले बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २५.३० रुपैयाँबाट घटेर २२.११ रुपैयाँमा सीमित बन्न पुगेको छ। 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १७४.६६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.२२ गुणा कायम भएको छ ।