काठमाण्डौ । माइक्रोसफ्टले एप्पलबाट विश्वको सबैभन्दा मूल्यवान कम्पनीको उपाधि खोसेको छ । 

कम्पनीले आईफोन निर्माता कम्पनी एप्पलबाट उपाधि खोस्दै पुनः विश्वकै सर्वाधिक मूल्यवान कम्पनी बन्न सफल भएको हो ।

कम्पनीले ३ वर्षपछि उपाधि आफ्नो पोल्टामा पारेको हो । बिहिबार कम्पनीको सेयरमूल्य १.५ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धिसँगै कम्पनीको बजार पूँजीकरण २.८८८ ट्रिलियन डलर पुगेको छ । 

कृत्रिम बौदिकता(एआई) बाट आम्दानी गर्ने होडमा माइक्रोसफ्टको सुरुवाति अग्रताले लगानीकर्ता हौसिएका छन् । जसका कारण कम्पनीको सेयरमूल्य वृद्धि भइरहेको छ । 

एप्पल कम्पनीको बजार पूँजीकरण २.८८७ ट्रिलियन डलर छ । कम्पनी माइक्रोसफ्टभन्दा ०.३ प्रतिशतले तल झरेको छ । क्यालीर्फोनियामा आधारित कम्पनी एप्पलको सेयरमूल्य नयाँ वर्ष २०२४ को ११ दिनमा ३.३ प्रतिशतले घटिसकेको छ ।

यो अवधिमा माइक्रोसफ्टको सेयरमूल्य भने १.८ प्रतिशतले बढेको छ । लामो समयदेखि आईफोनको बिक्रीमा कमी आइरहेको छ ।

विशेष गरी चीनमा आईफोनको बिक्रीमा कमी आइरहेको छ । चीनको बजार ठूलो भएका कारण त्यहाँ बिक्रीमा आएको गिरावटले विश्वस्तरमा कम्पनीले नोक्सानीको सामना गरिरहनु परेको छ । 

गत डिसेम्बर १४ मा ३.०८१ बजार पूँजीकरण रहेको एप्पलको सेयरमूल्य गत वर्ष ४८ प्रतिशतको वृद्धिका साथ बन्द भएको थियो । जुन माइक्रोसफ्टको ५७ प्रतिशत वृद्धिभन्दा कम हो । 

माइक्रोसफ्टले सन् २०१८ पश्चात थुप्रै पटक एप्पललाई उछिन्दै विश्वकै मूल्यवान कम्पनी बनेको थियो । पछिल्लोपटक सन् २०२१ मा कम्पनीले एप्पललाई उछिनेको थियो । त्यसबेला कोरोना महामारीका कारण आपूर्ती श्रृंखला प्रभावित बन्दा कम्पनीको सेयरमूल्यमा गिरावट आएको थियो । 

यतिबेला वाल स्ट्रिट माइक्रोसफ्टलाई लिएर सकारात्मक देखिएको छ । -एजेन्सी