काठमाण्डौ । एप्पलको आइफोन तथा अन्य ग्याजेट्सहरुको निकै ठूलो क्रेज छ विश्वभर  । तपाईले पनि एप्पल कम्पनीको लोगो देख्नु भएकै होला । तर, के तपाईलाई थाहा छ, एप्पल कम्पनीको लोगोमा रहेको स्याउ थोरै काटिएको जस्तो किन भएको होला ? लोगोको रुपमा थोरै काटिएको स्याउको चित्र किन प्रयोग गरिएको होला भन्ने प्रश्नले तपाईको दिमागमा पनि अक्सर ठाउँ पाइरहेकै होला, तर हालसम्म यसको रहस्य तपाईलाई थाहा नहुनसक्छ । आज हामी यही रहस्य बताउन गइरहेका छौ ।

स्टीभ जब्सले आफ्ना २ साथीसँग मिलेर सन् १९७६ मा एप्पल कम्पनीको स्थापना गरेका थिए । तर, कम्पनीको लोगो चाहि रब जेनेफले सन् १९७७  मा तयार गरेका थिए । सिएनएनका अनुसार यो लोगोलाई तयार गरी उनले एप्पलका संस्थापक स्टीभ जब्सलाई देखाए । पहिलो नजरमै जब्सलाई काटिएको स्याउजस्तो यो लोगो मन परेको थियो । 

कहाँबाट आयो आइडिया ?
कम्प्युटर साइन्सका पिता मानिने एलन टरिङको यादमा काटिएको स्याउको चित्र बनाइने गरिएको मानिसहरुको भनाई रहँदै आएको छ । एलनको सन् १९४५ मा संदिग्ध मृत्यु भएको थियो र उनको शवनजिकै एक छेउमा टोकिएको(काटिएको) स्याउ भेटिएको थियो, जसमा बिष मिसाइएको थियो । यही घटनालाई आधार मानेर डिजाइन गर्नेले एप्पल कम्पनीको लोगोलाई समेत एक छेउमा काटिएको स्याउको रुप दिएका थिए । 

नाम किन राखियो एप्पल ?
सन् २००९ मा जेनेफले एक अन्तर्वार्तामा बताए अनुसार स्टीभ जब्सले आफ्नो कम्पनीको नाम यसकारण एप्पल राखेका थिए कि, उनको उत्तर क्यालिफोर्नियामा स्याउको एक विशाल बगान थियो, उनले त्यहाँ आफ्नो अधिकांश समय बिताउँथे । यसका साथै स्टीभले स्याउलाई एक पूर्ण फल समेत मान्थे । उनले जुन बेला कम्पनी बनाउन गइरहेका थिए, सो बेला संभावित नामको सूचिमा सबैभन्दा माथि एप्पल थियो ।

पहिचान बदलिदैन
जेनेफले यो पनि बताएका छन् कि स्याउ यस्तो एक फल हो, जसको थोरै भाग काटिए पनि यसको पहिचान भने परिवर्तन हुँदैन । यसकारण पनि एप्पल कम्पनीका लागि यो लोगो तयार गरिएको थियो ।