काठमाण्डौ । एफपीओ जारी मुख्य अजेन्डासहित समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको गत चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही चैत २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा तनहुँको आँबुखैरेनीस्थित आँबुखैरेनी रेस्टुरेन्ट एन्ड पार्टी प्यालेसमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले सजिलो लघुवित्त र समीट लघुवित्त आपसमा गाभिएपछि संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारणतर्फको ६ लाख कित्ता साधारण सेयर प्रिमियममा थप सार्वजनिक निष्कासन (एफपीओ) का माध्यमबाट जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। उक्त कार्यका लागि नियमनकारी निकायको निर्देशनबमोजिम संस्थाको प्रबन्धपत्र, नियामवली संशोधनलगायत अन्य सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

सोही सभाले अन्य उपयुक्त लघुवित्त संस्थासँग आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण क्रियाकलाप गर्ने अख्तियार सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

सभा प्रयोजनका लागि संस्थाले यही चैत १७ गतेदेखि सभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ सभामा भाग लिन चैत १६ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ।