काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले दशैंअघि नै सेयरधनीलाई बोनस खुवाउने भएको छ । 

आफ्ना सेयरधनीले दशैंखर्च समेत पाउन् र दशैंको सौगातको रुपमा बोनस सेयर पनि पाउन् भन्ने उद्देश्यले एभरेष्ट बैंकले यस्तो तयारी गरेको हो । 

यो बैंकलाई नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरण(वासलात)का लागि प्रारम्भिक स्वीकृति(प्रिलिमिनरी अप्रूभल) दिएको छ ।

आइतबार राष्ट्रबैंकबाट यस्तो स्वीकृति आएपछि बैंक चाँडोभन्दा चाँडो लाभांश घोषणा गरेर दशैंअघि नै लाभांश खुवाउने तयारीमा जुटेको हो। 

वासलातलाई प्रारम्भिक स्वीकृति आएसँगै बैंकको यही साता सञ्चालक समितिको बैठक बस्नेछ । सो बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गर्नेछ । 

यो बैंकले गत वर्षको नाफाबाट ४० प्रतिशतभन्दा बढीको लाभांश क्षमता बनाएको छ । तर, सबै लाभांशको रुपमा आउने सम्भावना छैन। 

बैंकले विगतदेखि नै नगद लाभांशमा समेत जोड दिंदै आएको छ । यसर्थ, यसपटक पनि २०–२५ प्रतिशतको हाराहारीमा एभरेष्ट बैंकले लाभांश घोषणा गर्ने र त्यसमा नगद लाभांशको मात्रा पनि राम्रै हुनसक्ने अनुमान गरिएको छ । 

एभरेष्ट बैंक बोनस सेयर मात्र दिएर आफ्नो पूँजीको साइज धेरै ठूलो बनाउने पक्षमा छैन । त्यसकारण यो बैंकको सेयर किनेर बसेकाहरुले दशैंअघि उपहारको रुपमा केही बोनस सेयर पाउनेछन् भने ‘दशैं खर्च’को रुपमा नगद लाभांश समेत पाउनेछन् । 

‘सञ्चालक समितिबाट लाभांशको निर्णय भएपछि हामी द्रूत गतिमा बाँकी काम अगाडि बढाउने सोंचमा छौं ।’ बैंकस्थित स्रोतले भन्यो–‘दशैंअघि नै वार्षिक साधारणसभा समेत सम्पन्न गर्ने गरी हाम्रो तयारी अगाडि बढेको छ ।’ 

सञ्चालक समितिबाट घोषित लाभांश वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने प्रक्रिया रहेको छ ।