काठमाण्डौ । टेस्ला, स्पेसएक्स र ट्विटरका सीईओ एलन मस्कको समस्या झनै बढ्दै गइरहेको छ। 

विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी टेस्लाको सेयर गत वर्ष झन्डै ६५ प्रतिशतले घटेको थियो। टेस्लाको स्टक नयाँ वर्षको पहिलो ३ कारोबार दिनमा २ दिनमा घट्यो। बिहीबार २.९० प्रतिशतले घटेको थियो। जसका कारण मस्कको कुल सम्पत्ति २ अर्ब १० करोड डलरले घटेर १२४ अर्ब डलरमा झरेको छ। 

मस्कको नेटवर्थ नोभेम्बर २०२१ मा ३४० अर्ब डलर पुगेको थियो। तर, त्यसपछि निरन्तर गिरावट आइरहेको छ। 

मस्क अहिले विश्वका धनीहरुको सूचीमा तेस्रो नम्बरमा झर्ने नजिक पुगेका छन्। वर्ष २०२३ भर्खरै सुरु भएको छ तर यो वर्षको सुरुआतदेखि मस्कले अहिलेसम्म १३ अर्ब डलर गुमाइसकेका छन्। 

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्क १२४ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनीहरूको सूचीमा दोस्रो स्थानमा छन्। यो सूचीमा गौतम अडानी समूहका अध्यक्ष गौतम अडानी तेस्रो स्थानमा छन्। उनको कुल सम्पत्ति ११९ अर्ब डलर रहेको छ। अर्थात् मस्क र अडानीको नेटवर्थमा अहिले ५ अर्ब डलरको मात्र अन्तर छ। 

बिहीबार अडानीको कुल सम्पत्ति १.७४ बिलियन डलरले बढेको छ। गत वर्ष उनको कुल सम्पत्ति ४४ अर्ब डलरले बढेको थियो। कुनै समय उनको कुल सम्पत्ति १५० अर्ब डलर पुगेको थियो र उनी धनीहरुको सूचीमा दोस्रो स्थानमा पुगेका थिए। यो स्थान हासिल गर्ने अडानी एसियाकै पहिलो अर्बपति हुन्।

नोभेम्बर २०२१ मा मस्कको कुल सम्पत्ति ३४० अर्ब डलर पुग्यो। त्यसपछि यो विश्वास गरिएको थियो कि उनको कुल सम्पत्ति एक ट्रिलियन डलर पुग्न सक्छ। तर, त्यो भएन। त्यसयता उनको कुल सम्पत्ति २०० बिलियन डलरभन्दा बढीले घटेको छ। यति ठूलो सम्पत्ति गुमाउने उनी विश्वकै पहिलो व्यक्ति हुन्। यसको सबैभन्दा ठूलो कारण टेस्लाको सेयरमा आएको गिरावट थियो। 

टेस्लाका कारहरुको माग लगातार घट्दै गइरहेको छ र यसले अन्य कम्पनीबाट पनि कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ। यसले कम्पनीप्रति लगानीकर्ताको विश्वास डगमगाएको छ।

फ्रान्सका बर्नार्ड अर्नाल्ट १६९ अर्ब डलरको सम्पत्तिका साथ विश्वका धनीहरुको सूचीमा पहिलो स्थानमा छन्। 

यसैबीच अमेरिकाका दिग्गज लगानीकर्ता वारेन बफेट चौथो नम्बरमा पुगेका छन्। माइक्रोसफ्टका संस्थापक बिल गेट्स १०७ अर्ब डलरको सम्पत्तिका साथ यो सूचीमा पाँचौँ नम्बरमा झरेका छन्। 

अमेजनका संस्थापक जेफ बेजोस १०६ अर्ब डलरको कुल सम्पत्तिका साथ छैटौँ नम्बरमा छन्। ल्यारी एलिसन ९३.३ अर्ब डलरका सातौँ, भारतका मुकेश अम्बानी ८६.२ अर्ब डलरका आठौँ, ल्यारी पेज ८१.४ अर्ब डलरका नवौँ र स्टिभ बाल्मर ८०.२ अर्ब डलरका दसौँ नम्बरमा छन्। –एजेन्सी