काठमाण्डौ । नेपाल एसबीआई बैंकको ३९८ औं बोर्ड बैठकले लगानीकर्तालाई २८ प्रतिशत सेयर र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । 

असोज १७ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

बोर्ड बैठकको यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

बैंकले गत आर्थिक वर्षको अवधिमा २ अर्ब १७ करोड संचालन नाफा र १ अर्ब ३३ करोड खूद नाफा आर्जन गर्न सफल भएको थियो । 

यो बैंकको हालको चुक्तापूँजी ३ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । २८ प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापुँजी ५ अर्बको हाराहारीमा पुग्नेछ । 

यो बैंकले देशभरका ३ क्षेत्रीय कार्यालयसहित ७३ वटा शाखा, ८६ वटा एटीएम काउण्टर र ६७८ जना दक्ष कर्मचारीबाट आफ्नो सेवा देशभर पुर्याएको छ ।