काठमाण्डौ । कच्चा तेलको मूल्यमा लगातार गिरावट भइरहेको छ । 

अन्तराष्टिय सञ्चारमाध्यमहरुका अनुसार कच्चा तेलको दैनिक उत्पादन विभिन्न क्षेत्रमा बढेसँगै यसको मूल्यमा लगातार गिरावट आएको हो । 

तेल उत्पादनलाई कटौति गरेर मूल्य थमौति हुने आशा गरेर बसेका देशहरुलाई तेल उत्पादकहरुका विभिन्न संगठनले साथ नदिएपछि बजारमा आपूर्ति बढ्न गई मूल्य लगातार तल झरिरहेको हो । 

पछिल्लो २४ घण्टामा पनि कच्चा तेलको मूल्यमा गिरावट नै देखिएको छ । केही साताअघिसम्म प्रति ब्यारेल झण्डै ९० डलर आसपास रहेको डब्लूटीआई क्रूडको मूल्य घटेर प्रति ब्यारेल ६८ डलरमा झरिसकेको छ । 

ब्रेन्ट क्रूडको मूल्य पनि घटेर प्रति ब्यारेल ७३ डलरमा आइपुगेको छ भने अन्य विभिन्न देशमा उत्पादित कच्चा तेलको मूल्यमा समेत लगातार भारी गिरावट आइरहेको छ । 

कच्चा तेलको मूल्य घट्दा यसले नेपालजस्तो अरु देशबाट पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने देशलाई फाइदा पुग्छ । तेल आयातका लागि प्रत्येक महिना ठूलो रकम बाहिरिनबाट जोगिन्छ, जसले राष्ट्रिय ढुकुटीमा थोरै भए पनि राहात पुग्छ । 

कच्चा तेलको मूल्य सस्तिनु भनेको घरेलु बजारमा बिक्री हुने इन्धनको मूल्य पनि सस्तिनु हो। तर, नेपाली बजारमा इन्धनको मूल्य भारतीय आयल कर्पोरेसनबाट प्रत्येक १५ दिनमा आउने मूल्यसूचीमा आधारित हुन्छ । भारतले अरु देशबाट कच्चा तेल आयात गरेर त्यसलाई तयार गरी नेपाललाई बिक्री गर्छ । उसको लागत मूल्य कम भएपछि नेपाललाई पठाउने मूल्यसूची पनि घट्छ । यसले इन्धनको मूल्य घट्न गई सार्वजनिक यातायात, ढुवानी लगायतको खर्च तथा भाडा घट्न पुग्छ । 

ढुवानीको खर्च घट्दा त्यसले उपभोक्ता मुद्रास्फितिलाई थोरै भए पनि सहज बनाइदिन्छ । लगातार मूल्य घटेमा नेपालको उपभोक्ता मुद्रास्फिति कम भई बजारको महंगी समेत कम हुनेछ ।