काठमाण्डौ । ट्विटरले चाँडै आफ्नो प्लेटफर्ममा भेरिफाइन्ड केन्टेन क्रिएटरहरुलाई भुक्तानी गर्न सुरु गर्ने भएको छ। 

कम्पनीका मालिक एलन मस्कले शनिबार ट्विट गर्दै यसबारे जानकारी दिएका हुन्। ‘एक्स÷ट्विटरले केही हप्तामा क्रिएरटहरुलाई जबाफ दिँदै देखाइएका विज्ञापनहरुका लागि क्रिएटरहरुलाई भुक्तानी गर्न थाल्नेछ। क्रिएटरहरुलाई पहिलो ब्लकमा कुल ५० लाख डलर भुक्तानी गरिनेछ’, मस्कको ट्विटमा भनिएको छ, ‘ध्यान दिनुहोस्, भेरिफाइड क्रिएटरहरुलाई मात्र भुक्तानी गरिनेछ र त्यो पनि भेरिफाइड प्रयोगकर्ताहरुले विज्ञापन हेरेपछि मात्र मान्य हुनेछ।’

गत अप्रिल २९ मा ट्विटरले अफिसियल अकाउन्टबाट ट्विट गर्दै भनेको थियो, ‘विश्वभरका क्रिएटरहरुले अब ट्विटरमा साइन अप गर्न र कमाउन सक्छन्। आजै अप्लाई गर्न सेटिङमा मनिटाइजेसनमा ट्याप गरौँ।’

यद्यपि यसका माध्यमबाट तिनै क्रिएटरहरुले पैसा कमाउन सकछन् जसको अकाउन्टमा कम से कम ५०० फलोअर हुनेछ। 

यसैगरी अकाउन्ट भेरिफाइन्ड हुनुका साथै पछिल्लो ३० दिनदेखि सक्रिय रहेको पनि हुनुपर्नेछ। 

ट्विटरको ट्विटमा टिप्पणी गर्दै एलन मस्कले भनेका छन्, ‘संसारभरका कन्टेन क्रिएटरहरुलाई सपोर्ट गरौँ। यो धेरै मान्छेका लागि एउटा प्रमुख आयस्रोत बन्न सक्छ। यसबाट उनीहरुले तपाइँलाई थप समय दिएर उत्कृष्ट कन्टेन्ट बनाउन सक्छन्।’ 

एलन मस्कले अप्रिल १४ मा ट्विट गर्दै भनेका थिए, ‘आफ्ना फलोअरहरुलाई लङफर्म टेक्स्टदेखि घन्टौँ लामो भिडियोमा कुनै पनि मेटेरियलको सब्सक्रिप्सन अफर गर्नका लागि अप्लाई गर्नुहोस्। सेटिङमा ‘मनिटाइजेसन’मा ट्याप गर्नुहोस्। ’

ट्विटरले आगामी १२ महिनाका लागि मनिटाइजेसनको कमाइबाट कुनै पनि हिस्सा लिने छैन। यद्यपि एन्ड्रोइड र आईओएसले ३० प्रतिशत शुल्क लिने गर्दछ। यो शुल्क क्रिएटरको आम्दानीबाट काटिनेछ। वेबमा चार्ज करिब ८ प्रतिशत रहेको छ। –एजेन्सी