काठमाण्डौ । अधिकांश बैंक तथा बित्तीय संस्थाहरुको पूँजी वृद्धि अनुसारको आम्दानी र नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी(इपीएस) लगायतका प्रमुख सूचकहरु कमजोर बनिरहेको बेला वोमी माइक्रोफाइनान्सले भने कमालको प्रगति हासिल गरेको छ । 

चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो माइक्रोफाइनान्स कम्पनीले खूद नाफातर्फ ८४.३७ प्रतिशतको प्रगति हासिल गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ करोड १ लाख नाफा कमाएको यो कम्पनीले यो वर्ष चाहि १ करोड ८४ लाख कमाएको हो । 

कम्पनीले व्यवसाय बिस्तार गरेका कारण खूद ब्याज आम्दानी २ करोड ८६ लाखबाट वृद्धि भई ३ करोड ७० लाखको उचाईमा पुगेको छ । 

संचालन मुनाफातर्फ वोमीले १०७ प्रतिशतको फड्को मारेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो नाफा १ करोड ४० लाख रहेकोमा यो वर्ष बढेर २ करोड ९० लाखको उचाईमा पुगेको हो ।

समीक्षा अवधिमा वोमीले ३५ करोड २० लाख निक्षेप संकलन तथा ५७ करोड सापटी  लिई १ अर्ब ३ करोड बढीको कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १८ करोड ४३ लाख निक्षेप संकलन तथा २६ करोड ३१ लाख सापटी लिई ५० करोड ४० लाख बढी कर्जा प्रवाह गरेको थियो । यसरी हेर्दा कम्पनीले निक्षेप, सापटी र कर्जातर्फ क्रमशः ९०.९३, ११६.८७ र १०५.१० प्रतिशतको फड्को मारेको देखिएको छ । 

अघिल्लो वर्ष २ करोड ७९ लाख रुपैयाँमा सीमित रिजर्ब कोष बढेर ४ करोड ४४ लाखको उचाईमा पुगेको छ ।

यो अवधिमा १.७५ प्रतिशत रहेको खराब कर्जा घटेर ०.८४ प्रतिशतमा सीमित भएको छ भने प्रतिसेयर आम्दानी ३७.१५ रुपैयाँबाट वृद्धि भई ४७.५६ रुपैयाँको उचाईमा पुगेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १५७.१२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६.२८ गुणा कायम भएको छ ।