काठमाण्डौ । एनआइसी एशिया बैंकको बिहीबार बसेको बोर्ड बैठकले भोलि(शुक्रबार) लाभांश घोषणा गर्ने निर्णय गरेको छ । 

बिहीबार बसेको बोर्ड बैठकमा भोलि(शुक्रबार) बिहान पुनः बैठक बस्ने र लाभांश घोषणा गर्ने सहमति बनेको हो । 

बैंकका एक सञ्चालककाअनुसार शुक्रबार घोषणा हुने लाभांशको विषयमा समेत मोटामोटी सहमति बनेको छ । 

उनकाअनुसार एनआइसी एशिया बैंकका अधिकांश सञ्चालकहरु २९ प्रतिशत बोनस सेयर घोषणा गर्नुपर्नेमा सहमत देखिएका छन् । २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत दिने गरी निर्णय आउनसक्ने स्रोतले बतायो । 

एनआइसी एशिया बैंकसँग यो पटक ३१ प्रतिशतभन्दा केही बढी लाभांश दिनसक्ने क्षमता थियो । तर, राष्ट्रबैंकले उसको ब्यालेन्ससिटलाई प्रारम्भिक स्वीकृति दिने क्रममा केही रकम पुनः प्रभिजनमा राख्नुपर्ने निर्देशन दिएपछि केही घटेर लाभांश घोषणा गर्ने तयारी गरिएको हो । 

‘शुक्रबार बिहान ९ बजेका लागि बोर्ड बैठक पुनः डाकिएको छ ।’ स्रोतले भन्यो–‘त्यही बैठकले लाभांशसम्बन्धी आवश्यक निर्णय गर्नेछ।’

पूँजीकोष अनुपात टाइट भएपछि थप व्यवसाय विस्तार गर्न नसकेको एनआइसी एशिया बैंकले विगत ३ आर्थिक वर्षदेखि सेयरधनीलाई लाभांश बाँड्न पाएको छैन । 

पूँजीकै कारण बैंकले योपटक करबाहेक नगद लाभांशमा जोड गर्ने अवस्था छैन । बोनस सेयर जारी गरेर पूँजी बढाई बैंक थप व्यवसाय विस्तार गर्ने रणनीतिमा छ । यहीकारण समेत घोषित लाभांशमा करबाहेक सबै बोनस सेयर नै आउने बताइएको छ । 

हाल एनआइसी एशिया बैंक दोश्रो बजारमा मूल्यको हिसाबले ‘लिडर बैंक’ हो । यो बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ८१९ रुपैयाँ रहेको छ ।