काठमाण्डौ । मौद्रिक नीतिको पहिलो समीक्षापछि निक्षेपको ब्याजदर घटाउने पहिलो बैंक बनेको कुमारी बैंक लिमीटेडले कर्जाको प्रिमियम दर समेत घटाएर ऋणिलाई राहात हुने काम गरेको छ ।

बैंकले कर्जा प्रवाह गर्दा बेसरेटमा जोड्ने अधिकतम प्रिमियम दरलाई ह्वात्तै घटाएको हो । 

बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गरी जनवरी १, २०२४ देखि लागू हुने गरी कर्जाको प्रिमियम दरलाई अधिकतम ३.५ प्रतिशत कायम गरेको हो । हाल अधिकतम प्रिमियम दर .५ प्रतिशत छ । यसरी हिसाब गर्दा कुमारी बैंकको कर्जाको ब्याजदर जनवरी १ देखि अहिलेको तुलनामा २२.२२ प्रतिशतले सस्तिनेछ । 

हाल धेरै वाणिज्य बैंकले कर्जा प्रवाह गर्दा आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम दर जोड्ने गरेका छन् । 

कर्जाको अधिकतम प्रिमियम दर घट्दा यसले साना तथा मझौला ऋणिहरुलाई बढी लाभ पुग्छ । किनभने बैंकहरुले ठूला ऋणिहरुलाई ठूलो साइजको ऋण आधारदरमै पनि प्रवाह गर्दै आएका थिए भने साना र मझौलालाई बेसरेटमा अधिकतम प्रिमियम दर तोक्दै आएका थिए । 

त्यसो त कुमारी बैंकको बेसरेट पनि घट्दो छ । यो बैंकको कात्तिक महिनाको आधार दर १०.७७ प्रतिशत छ । मंसिरमा अझ घटेर १०.५० प्रतिशतसम्म आउने देखिन्छ । 

बैंकले निक्षेपको ब्याजदर पनि ह्वात्तै घटाएकोले पुसमा आधारदर अझ न्यून हुनेछ । यसले लोन लिनेहरुलाई लाभ पुग्नेछ । 

कुमारी बैंककाअनुसार प्रिमियमको नयाँ दर फोन लोन र क्रेडिट कार्ड बाहेक यस बैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका कर्जाहरु उपभोग गर्ने नयाँ तथा पुराना सबै ग्राहकहरूमा लागू हुनेछ ।

कुमारी बैंकले आफ्ना ग्राहकहरुको आर्थिक गतिविधि थप चलायमान होस् भन्ने उद्देश्यका साथ प्रिमियम दर घटाउने निर्णय गरिएको दाबी गरेको छ । 

'कुमारी बैंकले आफ्ना ग्राहकहरुका गतिशील आवश्यकताहरु र निरन्तर परिर्वतन हुने वित्तीय परिदृश्यलाई पूरा गर्न समयानुकुल विभिन्न योजनाहरु प्रवर्धन गर्ने गरेको छ । बैंकिङ्ग सेवामा उत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहक तथा समुदायको समृद्धिमा योगदान  पुर्‍याउन बैंक सदैब तत्पर छ ।'-बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।