काठमाण्डौ । नेपाल राष्ट्र बैंकको पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले कर्जा दुरुपयोग नगर्न लघुवित्त संस्थामा आबद्ध सदस्यहरुलाई सचेत गराएका छन्। 

नेपाल लघुवित्त बैंकर्स संघको आयोजना तथा साधना लघुवित्त वित्तीय संस्थाको समन्वयमा मंगलबार गोरखा जिल्लाको सदरमुकाममा भएको वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन गर्दै पूर्वगभर्नर क्षेत्री लघुवित्तबाट लिएको कर्जा दुरुपयोग नगर्न सचेत गराएका हुन्। कर्जाको सदुपयोग गर्न आग्रह गर्दै उनले भने, ‘कर्जा दुरुपयोग गर्दा कठिनाइ तथा कानुनी झमेला पर्न सक्छ।’

कुनै पनि व्यक्ति वा समूहले भन्दैमा कर्जा मिनाहा नहुने पनि क्षेत्रीले स्पष्ट पारे। बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्याको बाबजुद पनि लघुवित्तले ब्याजदर वृद्धि नगरी सेवा प्रदान गरेकोमा उनले प्रशंसा पनि गरे। 

साधना लघुवित्तका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वगभर्नर क्षेत्री प्रमुख अतिथिका रुपमा थिए। अन्य अतिथिहरुमा नेपाल राष्ट्र बैंक, प्रदेश कार्यालय पोखराका मुख्य व्यवस्थापक, गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी, गोरखा जिल्ला प्रहरी प्रमुख, एनएमबीएका प्रतिनिधि, विभिन्न लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र समन्वयकर्ता संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने समेतको आतिथ्यता थियो। 

कार्यक्रममा स्वागत मन्तव्य राख्दै साधना लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले ग्राहक सदस्यलाई उत्पादनमूलक क्षेत्रमा कर्जा तथा सीप प्रदान गर्दै आएकोमा उक्त उत्पादनलाई बजारसँग जोडने आवधारणको समेत विकास गर्नुपर्नेमा जोड दिए।  

नेपाल लघुवित्त बैंकर्स संघका सचिव तथा सबैको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशव पौडेलले समग्र लघुवित्त क्षेत्रको उपलब्धि तथा हाल कथित लघुवित्तविरुद्धको संघर्ष समितिको नकारात्मक प्रभावका बारेमा चर्चा गरेका थिए। 

त्यसैगरी नेपाल ग्रामीण लघुवित्तको प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कट्वालले लघुवित्त कार्यक्रमले ग्रामीण जनसमुदायको जिबनमा पारेको सकरात्मक प्रभाव तथा परिर्वतनको बारेमा चर्चा गरे। 

कार्यक्रममा लघुवित्तमा आबद्ध महिलाहरुको जीवनस्तर तथा आयस्तर उकासन तथा उद्यमशीलता विकास गर्न लघुवित्तले गरेको सहगोगका बारेमा विभिन्न लघुवित्तमा आबद्ध सदस्यहरुले आ–आफनो सफलताको कथा राखेका थिए। 

त्यसैगरी नेपाल राष्ट्र बैंकको पोखरा प्रदेश कार्यालयकी उपनिर्देशक नवीना ढकालले लघुवित्तले ग्रामीण अर्थतन्त्र उकास्नका लागि खेलेको भूमिकाका बारेमा खुलेर प्रशंसा गरिन्। 

कार्यक्रममा गोरखा जिल्लालाई कार्यक्षेत्र बनाई लघुवित्त सेवा प्रदान गर्दै आएका ग्रामी विकास लघुवित्त, छिमेक लघुवित्त, डिप्रोक्स लघुवित्त, स्वावलम्बन लघुवित्त,साधना लघुवित्त, जाल्पा लघुवित्त, समिट लघुवित्त, कालिका लघुवित्त, एनआईसी एशिया लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, सबैको लघुवित्त, मिर्मिरे लघुवित्त र एनएमबि लघुवित्तको सहभागिता थियो। 

कार्यक्रममा लगभग ४०० जना सदस्य तथा ५० जना कर्मचारीहरु गरी कुल ४५० जनाको उपस्थिति थियो। कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो।