काठमाण्डौ । विश्वभर विद्युतीय सवारीसाधनका लागि चर्चित अमेरिकाको प्रमुख अटोमेकर कम्पनी टेस्ला प्रायः चर्चामा रहन्छ। कहिले एड्भान्स फिचर भएका कारका कारण र कहिले अटोनोमस ड्राइभिङ सिस्टममा भएका प्राविधिक त्रुटिका कारणले। यो कम्पनी नाम कसरी ‘टेस्ला’ रह्यो भन्ने विषयमा आज चर्चा गर्दैछौँ। 

सन् २००३ मा विद्युतीय सवारीसाधनमा प्रवेश गरेपछि टेस्ला समयसँगै ठूलो नाम बनेको छ। बजारमा विद्युतीय सवारीसाधन निर्माण गर्ने धेरै ठूला कम्पनी भए पनि टेस्लाले आफ्नो एड्भान्स फिचर भएका विद्युतीय सवारीका कारण आफ्ना लागि छुट्टै स्थान बनाएको छ। तर, ‘टेस्ला’ ब्रान्ड नामको अधिकार पहिले नै कम्पनीसँग थिएन। बरु यो अरु कसैबाट किनिएको हो। 

एलन मस्कले एक अन्तर्वार्ताका क्रममा पुष्टि गरे कि कसरी त्यो नामको अधिकार प्राप्त गर्न अरु कसैबाट किन्नुपर्यो। टेक इम्पल्सको एउटा युट्युब सर्टले मस्कसँग टेस्ला मोटर्स नामका बारेमा कुराकानी गरिएको भिडियो सार्वजनिक गरेका ेछ। जसमा मस्कले यो नाम कुनै अन्य स्रोतबाट आएको र उनीसँग पनि यो नामको अधिकार नभएको बताए।

मस्कलाई नाम कसरी बेचियो भन्ने कथा रोचक छ। यस छोटो भिडियोमा मस्कले बताएअनुसार यो नाम पहिले नै थियो र यसको अधिकार मूल रूपमा एक स्क्रामेन्टोका एक युवकसँग सम्बन्धित थियो। जसले पहिले नै यसको स्वामित्व राखेका थिए। मस्कलाई यो नाम मन पर्यो र आफ्नो ब्रान्डका लागि प्रयोग गर्न प्रयास थाले। उनले सुरुमा नाम किन्नका लागि ७५ हजार डलर दिने प्रस्ताव गरे तर ती युवकले नाम बेच्न चाहेनन्। 

मस्कले भिडियोमा भनेका छन्, ‘मैले ती युवकबाट नाम लिन रणनीति बनाएँ र कम्पनीको सबैभन्दा राम्रो, प्यारो र उत्कृष्ट व्यक्तिलाई ती युवकसँग भेट्न पठाएँ ता कि यो नामको अधिकार किन्न सकियोस्।’

कम्पनीका कर्मचारीलाई आफ्नो नाम बेच्न राजी नभएसम्म ती युवकको ढोकामा बस्न निर्देशन दिइएको मस्कले सुनाए। 

अन्ततः मस्कको निर्णय सही साबित भयो र ती युवकले ‘टेस्ला’ नाम बेच्ने निर्णय गरे। यसको मतलब अब मस्कले टेस्ला नाम प्रयोग गर्न पाउने भए। 

टेस्ला मोटर्स अहिले टेस्ला इंक भनिन्छ। पहिलो पटक सन् २००३ मा स्थापित भएको थियो। यो नाम कम्पनीको लागि किन यति महत्वपूर्ण छ ? मस्कको यो ब्रान्डको नाम एक सर्बियाई–अमेरिकी विद्युतीय इन्जिनियर निकोला टेस्लाको नाममा राखिएको हो। जो अल्टरनेटिङ करेन्ट (एसी) विद्युत आपूर्ति प्रणालीको डिजाइनमा आफ्नो योगदानका लागि परिचित छन्।

टेस्ला मोटर्स इलेक्ट्रिक स्पोर्ट्स कारहरु बनाउनका लागि गठन गरिएको थियो। एबरहार्ड टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए र टार्पेनिङ यसका प्रमुख वित्तीय अधिकारी (सीएफओ) थिए। कम्पनीका लागि रकम विभिन्न स्रोतबाट प्राप्त गरिएको थियो। विशेषगरी पेपलका तत्कालीन सहसंस्थापक मस्कले व्यवसायमा ६.५मिलियन डलर लगानी गरे र कम्पनीको सबैभन्दा ठूलो सेयरहोल्डर बने। सन् २००८ सम्म उनी कम्पनीको सीईओका रुपमा काम गरिरहे।

मस्कले कम्पनीभित्र सक्रिय भूमिका खेले र रोडस्टर इलेक्ट्रिक कारको उत्पादन बढाउने तयारी गर्न थाले। कम्पनीको रणनीति प्रारम्भमा प्रिमियम स्पोर्ट्स कार प्रस्तुत गर्ने थियो। पछि सेडान र किफायती कम्प्याक्टलगायतका थप कारमा ध्यान केन्द्रित गरे। कम्पनीमा मस्कको सफलता द्रुत गतिमा बढ्दै गएको थियो र उनी निरन्तर लगानी गरिरहेका थिए। 

टेस्लाको पहिलो कार रोडस्टर आधिकारिक रुपमा २००६ जुलाई १९ मा सान्ता मोनिका क्यालिफोर्नियामा, सान्ता मोनिका एयरपोर्टको बार्कर ह्यांगरमा आयोजित एक कार्यक्रममा पेस गरिएको थियो। जसमा केवल ३५० जनालाई आमन्त्रित गरिएको थियो।

अगस्ट २००७ मा मस्कको नेतृत्वमा रहेको बोर्डले एबरहार्डलाई सीईओको पद छोड्न भनियो। एबरहार्डलाई जनवरी २००८ मा अन्ततः कम्पनी छोड्नुअघि ‘प्रविधिको अध्यक्ष’को उपाधि दिइएको थियो। सहसंस्थापक मार्क टार्पेनिङले कम्पनीको विद्युतीय इन्जिनियरिङका उपाध्यक्षका रूपमा सेवा गरेका थिए। उनले पनि जनवरी २००८ मा कम्पनी छोडे। अगस्त २००७ मा माइकल मार्क्सलाई अन्तरिम सीईओका रुपमा ल्याइयो र डिसेम्बर २००७ मा जिभ द्रोरी सीईओ र अध्यक्ष भए। अक्टोबर २००८ मा मस्क द्रोरीपछि सीईओ बने। केवल दुई वर्ष भित्रमा कम्पनीमा ठूलो परिवर्तन भयो र जुन २००९ मा एबरहार्डले मस्कविरुद्ध कथित रुपमा उनलाई निष्कासन गरेकोमा मुद्दा दायर गरे।

जेहोस् टेस्लाले २००८ मा रोडस्टरको उत्पादन सुरु गर्यो र जनवरी २००९ मा कम्पनीले १४७ युनिट कारको पहिलो ब्याचको डेलिभरी सुरु गर्यो। समयसँगै विद्युतीय सवारीको बजारमा कम्पनीको नाम र कद बढ्दै गयो र पछि मोडल ३, मोडल एक्स, मोडल वाई र मोडल एस लगायत धेरै विद्युतीय कार भित्रिएका छन्। फेब्रुअरी २०१७ मा टेस्ला मोटर्सले आफ्नो विस्तारित व्यापार दायरालाई अझ राम्रोसँग प्रतिबिम्बित गर्न यसको नाम परिवर्तन गरी टेस्ला इंक राख्यो। जसमा अब विद्युतीय सवारी, ब्याट्री ऊर्जा भण्डारण प्रणाली र सौर्य ऊर्जा उत्पादनजस्ता व्यवसाय समावेश छन्। –एजेन्सी