काठमाण्डौ । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफातर्फ अपत्यारिलो वृद्धि गरेको छ ।

यो बैंकले अघिल्लो वर्षको तुलनामा १३५ प्रतिशतले खुद नाफा बढाएको हो । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ८ करोड २० लाख रुपैयाँ मात्र खुद नाफा आर्जन भएकोमा यो वर्षको सोही अवधिमा १९ करोड २६ लाख आर्जन भएको छ ।

अघिल्लो वर्ष २३ करोड ७७ लाखमा सीमित खुद ब्याज आम्दानीमा वृद्धि भई यो वर्ष ३५ करोड ६१ लखको उचाईमा पुगेको छ । यो अवधिमा बैंकले ९ अर्ब ३५ करोड निक्षेप संकलन गरी ८ अर्ब ३८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ७ अर्ब ४८ करोड निक्षेप संकलन गरी ५ अर्ब ९६ करोड कर्जा परिचालन गरेको थियो ।

यो बैंकले अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ३.४० प्रतिशतमा रहेको निस्क्रिय कर्जा अनुपात घटाएर यो वर्ष सोही अवधिमा ०.९९ प्रतिशतमा झारेको छ । बैंकको वार्षिकीकृत प्रति सेयर आम्दानी २३ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ८६ पैसा रहेको छ ।

हाल यो बैंकको चुक्तापुँजी १ अर्ब १० करोड र जगेडा कोषमा ३४ करोड रुपैयाँ रहेको छ । यो बैंकले निकट भविष्यमै सतप्रतिशत हकप्रद निश्कासन गर्दैछ । हकप्रदपछि बैंकको चुक्तापुँजी २ अर्ब २० करोडको उचाईमा पुग्नेछ ।