काठमाण्डौ । सूर्य लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ६६२ प्रतिशतको प्रगति हासिल गरेको छ ।

यो जीवन बिमा कम्पनी चालु आर्थिक वर्षकै दोश्रो त्रैमाससम्म पनि १ करोड ७८ लाख खुद घाटामा थियो । तर तेश्रो त्रैमासमा यो कम्पनीले आफूलाई शानदार बाउन्स ब्याक गर्दै ६ करोड ३ लाख कमाउन सफल भएको छ ।

यो अवधिमा सूर्य लाइफले ७७ करोड ६२ लाख रुपैयाँ प्रिमियमबाट कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा प्रिमियमतर्फको आम्दानी ५७ करोड २ लाखमा सीमित थियो ।

तेश्रो त्रैमाससम्म यो कम्पनीको लगानी १ अर्ब ३९ करोडको उचाईमा पुगेको छ। ग्त वर्ष यो अवधिमा लगानी ७४ करोड ५५ लाखमा सीमित थियो । अघिल्लो वर्ष यो अवधिमा ६ करोड ९४ लाख बराबरको बिमा दाबी भुक्तानी गरेको यो कम्पनीले यो वर्षको सोही अवधिमा १० करोड २१ लख बराबरको भुक्तानी गरेको छ ।

यो बिमा कम्पनीले आफ्ना सेयरधनीलाई अघिल्लो आर्थिक वर्षको खुद नाफाबाट १० प्रतिशत बोनस सेयर र त्यसपछि कायम हुने चुक्तापुँजीको ४० प्रतिशत हकप्रद वितरणको प्रस्ताव गरेको छ ।

हाल यो कम्पनीको चुक्तापुँजी ६२ करोड ५० लाख रहेको छ । आर्थिक वर्ष २०७१ ७२ को खुद नाफाबाट यसले ५ प्रतिशत बोनस सेयर जारी गरेको छ । यो ५ प्रतिशत बोनस सेयर, त्यसपछिको आर्थिक वर्षबाट घोषित १० प्रतिशत अर्को बोनस सेयर र त्यसपछि जारी हुने ४० प्रतिशत हकप्रदपछि चुक्तापुँजी १ अर्ब १ करोडको उचाईमा पुग्नेछ ।

बिमा समितिले जीवन बिमाको काम गर्ने कम्पनीको चुक्तापुँजी २ अर्ब हुनुपर्ने व्यवस्था गरेको छ । यो हिसाबले सूर्य लाइफ इन्स्योरेन्सले आगामी वर्षसम्म निकै ठूलो परिमाणमा हकप्रद र बोनस सेयर जारी गर्नसक्ने देखिन्छ ।