काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक लिमीटेडको खूद नाफा घटेको छ । यो बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १५ करोड ३ लाख नाफा कमाएको हो । अघिल्लो वर्ष यही अवधिमा यो बैंकको नाफा १९ करोड २ लाख थियो । 

बैंकका अन्य अधिकांश सूचकहरुमा गिरावट आएको छ । अघिल्लो वर्ष ३५ करोड ३१ लाख रहेको खूद ब्याज आम्दानी घटेर ३२ करोड २८ लाखमा सीमित भएको छ भने २८ करोड २४ लाख रहेको संचालन नाफा समेत घटेर २२ करोड २१ लखमा सीमित बन्न पुगेको छ । 

खर्च नियन्त्रण गर्न नसक्दा संचालन मुनाफा घटेको देखिएको छ भने व्यवसाय बिस्तार गर्न नसक्दा खूद ब्याज आम्दानी घटेको देखिएको छ । 

यो बैंकले समीक्षा अवधिमा १७ अर्ब ५८ करोड निक्षेप संकलन गरी १५ अर्ब ७७ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १२ अर्ब ९९ करोड निक्षेप संकलन गरी ११ अर्ब ३४ करोड कर्जा परिचालन गरेको थियो ।

कम्पनीले निस्क्रिय कर्जालाई १.२६ प्रतिशतबाट घटाएर १.१७ प्रतिशतमा झारेको छ भने रिजर्ब कोषमा भने सतप्रतिशतको प्रगति हासिल गरेको छ । 

चुक्तापूँजीमा ५७.११ प्रतिशतको बढोत्तरी भएको यो बैंकको खूद नाफा नै घटेपछि वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेर १४.०७ रुपैयाँमा सीमित बन्न पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २७.९७ रुपैयाँ थियो । 

समीक्षा अवधिमा यो बैंकको प्रतिसेयर नेटवर्थ १४२.८४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.७१ गुणा कायम भएको छ ।