काठमाण्डौ । कुमारी बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबै सूचकमा कमालको छलाङ हानेको छ । 

यो बैंकको लाभांश क्षमता मात्रै अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १२४ प्रतिशतले बढेको छ । यो बैंकले अघिल्लो वर्षको पहिलो त्रैमासमा ११ करोड २० लाखमा सीमित वितरणयोग्य मुनाफालाई बढाएर २५ करोड १० लाखको उचाई चुमाएको हो ।

बैंकको खूद नाफातर्फ पनि १४३.६६ प्रतिशतको प्रगति भएको छ । अघिल्लो वर्षको यही अवधिमा १४ करोड ४३ लाखमा सीमित खूद नाफा बढेर यो वर्ष ३५ करोड १८ लाखको उचाईमा पुगेको हो । 

अघिल्लो वर्ष यही अवधिमा १९ करोडमा सीमित संचालन मुनाफातर्फ पनि करिब १६२ प्रतिशतको छलाङ हानी ५० करोडको उचाई पुर्याएको छ ।

व्यवसाय बिस्तारमा आक्रामक भएका कारण बैंकको खूद ब्याज आम्दानीतर्फ १०७ प्रतिशतको हाराहारीमा प्रगति भएको छ । अघिल्लो वर्ष ३९ करोड ५३ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष ८१ करोड ७६ लाखको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा कुमारी बैंकले ७२ अर्ब ४९ करोड निक्षेप संकलन गरी ६७ अर्ब ८२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेप ३२.२४ प्रतिशतले बढेको छ भने कर्जा ४६.५१ प्रतिशतले बढी बिस्तार भएको छ । 

बैंकको सापटीतर्फको प्रगति ६१६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ३५ करोड रहेको सापटी यो वर्ष बढेर २ अर्ब ५२ करोडको उचाईमा पुगेको हो ।
अघिल्लो वर्षको पहिलो त्रैमाससम्म २ अर्ब २२ करोड रहेको रिजर्बकोषमा समीक्षा अवधिसम्म ३ अर्ब ९५ करोड रुपैयाँ सञ्चित रहेको छ ।

चुक्तापूँजीमा करिब २० प्रतिशतले वृद्धि गर्न सकेको यो बैंकको प्रतिसेयर आम्दानीतर्फ १४४.३९ प्रतिशतको प्रगति भएको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ८ रुपैयाँ ७ पैसा रहेको प्रतिसेयर आम्दानी(इपीएस) बढेर यो वर्ष १९ रुपैयाँ ७१ पैसा पुगेको छ । 

अघिल्लो वर्ष १.९७ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर १.१४ प्रतिशतमा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ १५५.२१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.८९ गुणा कायम भएको छ ।