काठमाण्डौ । कुमारी बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १२.७५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 

यो बैंकको मंसिर १६ गते आइतबार बसेको संचालक समितिको बैठकले हालको चुक्तापूँजीको ७ अर्ब १६ करोड रुपैयाँको १२.७५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । 

यो हिसाबले कम्पनीले ९१ करोड ३२ लाख ८९ हजार ५ सय ७३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।

नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि घोषित बोनस सेयर सेयरधनीले पाउनेछन् । 

कुमारी बैंकले घोषणा गरेको यो बोनस सेयर आर्थिक वर्ष २०७३/७४ को सञ्चित मुनाफाबाट हो । यसको अर्थ बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लाभांश घोषणा गर्न बाँकी नै छ भन्ने हो । 

आर्थिक वर्ष २०७२/७३ मा यो बैंकले २१ प्रतिशत बोनस सेयर र १.१० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

प्रस्तावित बोनस सेयर वितरणपछि यो बैंकको चुक्तापूँजी ८ अर्ब ७ करोड रुपैयाँको उचाईमा पुग्नेछ ।

यो बैंकले चारवटा बित्तीय संस्थाहरुलाई प्राप्ति गरी २०७४ असार १६ गतेदेखि संयुक्त कारोबार गरेकोले सो मितिले २ वर्षभित्र गाभिएको अवस्थामा कायम रहेका सेयरधनीहरुलाई वितरण गरेको लाभांशमा कर नलाग्ने कानूनी व्यवस्था बमोजिम घोषित बोनस सेयरमा कर प्रयोजनका लागि नगद लाभांशको व्यवस्था नगरिएको बताइएको छ ।