काठमाण्डौ । कुमारी बैंक लिमीटेडले नाफा, संचालन मुनाफा, खूद ब्याज आम्दानीमा निकै राम्रो प्रगति गरे पनि चालु आर्थिक वर्ष वितरणयोग्य मुनाफा कम भएका कारण लगानीकर्तालाई ९ प्रतिशतको हाराहारीमा मात्रै लाभांश वितरण गर्न सक्ने देखिएको छ । 

यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ६१ करोड ६० लाख वितरणयोग्य मुनाफा आर्जन गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी ७ अर्ब १६ करोड रहेको छ। बैंकले २१.२५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव बैशाख २६ गतेको साधारणसभाबाट पारित गर्दैछ । यसपछि बैंकको चुक्तापूँजीमा १ अर्ब ५२ करोड थपिनेछ । यसरी हेर्दा बैंकको कुल चुक्तापूँजी ८ अर्ब ६८ करोड पुग्नेछ ।  बैंकको वितरणयोग्य मुनाफा तेश्रो त्रैमासमा झै चौथो त्रैमासमा पनि जारी रहे र नियामकीय व्यवस्थाका लागि थप रकम विनियोजन गर्नु नपरे ९.४६ प्रतिशत लाभांश वितरण गर्नसक्ने देखिएको छ।

समीक्षा अवधिमा बैंकले नाफा १ अर्ब बढी आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा यो ३६.२६ प्रतिशतले बढी हो । 

यसैगरी, अघिल्लो वर्ष १ अर्ब २ करोडमा सीमित संचालन मुनाफामा करिब ४० प्रतिशतले बढेर १ अर्ब ४२ करोड पुगेको छ भने १ अर्ब ३८ करोडमा सीमित खूद ब्याज आम्दानी ६०.६७ प्रतिशतले बढेर २ अर्ब २३ करोड पुगेको छ । 

यो अवधिमा बैंकले ६९ अर्ब ४ करोड निक्षेप संकलन गरी ६९ अर्ब ५९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप १५.९५ प्रतिशतले निक्षेप बढाएको देखिन्छ भने कर्जा बिस्तारमा  १४.८६ प्रतिशतको प्रगति देखिएको छ । बैंकको निक्षेप र कर्जातर्फको बिस्तारको गति सन्तुलित देखिन्छ । 

बैंकले अघिल्लो वर्षसम्म १ अर्ब ७९ करोडमा सीमित रिजर्बलाई बढाएर २ अर्ब १६ करोडको उचाई चुमाएको छ भने ८.६७ प्रतिशत रहेको कस्ट अफ फण्डलाई घटाएर ८.२९ प्रतिशतमा सीमित गरेको छ। 

बैंकमा १.२४ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा भने बढेर १.४१ प्रतिशत पुगेको छ भने अघिल्लो वर्ष ११.६२ प्रतिशत रहेको आधार दर घटेर ११.०२ प्रतिशतमा सीमित भएको छ । 

बैंकद्वारा प्रकाशित विवरणमा वार्षिकीकृत प्रतिसेयर आम्दानी र मूल्य आम्दानी अनुपात क्रमशः १८.६७ रुपैयाँ र १३.८७ गुणा रहेको छ । तर, बोनस वितरणपछिको मूल्य समायोजन भई प्रतिसेयर आम्दानी(इपीएस) १५.३६ रुपैयाँ र मूल्य आम्दानी अनुपात(पीई रेसियो) १६.८६ गुणा कायम हुनेछ ।