काठमाण्डौ । प्रस्तावित लाभांश पारितको मुख्य अजेन्डासहित कृषि विकास बैंक लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले बैंकको वार्षिक साधारणसभा पुस २७ गते कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्र भक्तपुरको बोडेमा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट बैंकले सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ३० प्रतिशत लाभांश पारित गर्ने छ । बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले पुस १३ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंकद्वारा प्रस्तावित लाभांश पाउन योग्य हुन र साधारणसभा भाग लिन पुस ११ गतेसम्म सेयरधनी कायम हुनुपर्नेछ । पुस १२ गते शनिबार परेको छ ।