-भिम चन्द
विश्वभरीमा पछिल्लो समय कोरोना भाइरसको कारण अमेरिका, स्पेन, इटली, फ्रान्स, जर्मनी र बेलायतमा मात्रै कूल संक्रमितको दुईतिहाई तथा कूल मृतकको करीब पाँच चौथाई संख्या रहेको र विश्वभरी कुल संक्रमितको संख्या करीब २३ लाख पुगेको र दिनहुँ बढिरहेको www.worldometers.info को तथ्याङ्क छ ।
नेपाल जस्ता देशहरुमा भाइरस पत्ता लगाउने भरपर्दो टेष्ट किट तथा यो क्षेत्रमा प्रत्यक्ष संलग्न हुने चिकित्साकर्मीहरुलाई भाइरसबाट बच्ने व्यक्तिगत सुरक्षा सामग्री(पीपीई)को अभाव र अपर्याप्तताका कारण संक्रमितलाई पत्ता लगाउन कठिनाइ भएकाले यो संख्या अझै बढी हुन सक्छ ।
चीनसँगैका सीमावर्ती देशहरु उत्तरकोरिया, ताजिकिस्तान र तुर्कमेनिस्तान तथा केही प्रशान्त महासागरीय द्वीपहरुले चीनमा फैलिरहेको महामारीले गाँज्नसक्ने सम्भावनालाई समयमै आँकलन गरेर पूर्व सतर्कता स्वरुप सीमा नाकामा हेल्थ स्क्रिनिङ्ग चेकजाँचमा कडाइ गरेर असुक्षित देखिएका कुनै पनि केसलाई प्रवेश नदिइएकाले संसारका अधिकांश देशहरु चित्कार गरिरहेका बेला यी देशहरु भने निर्धक्क आफ्ना नियमित गतिविधिहरु गरिरहेका छन् ।
कोरोना महामारीमा नेपालको अवस्था
करीब तीन–चार महिनासम्म चीन, युरोप, अमेरिका, खाडीमुलुक र अन्य एशियाली देशमा डढेलो झै फैलिरहेको यो महामारीले यहाँ पनि भेट्न सक्छ भन्ने संभावनालाई हाम्रो देशका सम्बद्ध सबै पक्षहरुले आँखा चिम्लिदा र केही सचेत नागरिकहरुले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलसहित छिमेकी देश चीन र भारतसँगका सीमा नाका बन्द गर्न दिएका सुझावलाई पनि सरकारले बेवास्ता गर्दा विदेशबाट आएका केही नेपालीहरुसँगै यो भाइरसले नेपालमा प्रवेश गर्ने अवसर पायो । देशभित्र संक्रमण देखिएपछि मात्र सरकार चीर निद्राबाट अकस्मात ब्यूँझियो र भाइरसको विस्तारलाई रोक्न अर्थात संक्रमितमै सीमित राख्न देशभरी लकडाउनको अस्त्र चाल्यो ।
तर, त्यसपछि पनि भारतमा भएका नेपालीहरु फर्किने क्रम रोकिएन । कोरोना प्रभावित भारतबाट लकडाउनको पहिलो हप्ता फर्किएका मध्य र सुदूरपश्चिमका डेढलाख बढी व्यक्तिहरु धेरैजसो गाउँसमाजमा घुलमिल भइसकेकाले यो क्षेत्रमा त्रासको स्थिति पैदा भएको छ । हाम्रो छिमेकी देश भारतमा संक्रमितको संख्या पन्ध्र हजारनजिक र ज्यान गुमाउनेको संख्या पाँचसय रहेको तथा पछिल्लो समय दैनिक संक्रमित र मृतकको संख्या बढिरहेको अवस्थामा भारतसँगका खुला सीमाबाट लकडाउनकै बीचमा लुकिछिपी नेपालको विभिन्न भागमा प्रवेश गरिरहेका मानिसहरु हाम्रो देशको लागि निकै खतरनाक हुन सक्छन् । यसरी प्रवेश गर्नेहरुको संख्या, तिनीहरुको यात्रा विवरण र संसर्ग जानकारी नभएकाले यस्ताबाट हाल खासगरी तराई, त्यस आसपास महाभारत श्रृंखलाका वस्तीहरु तथा भारतसँगका सीमावर्ती क्षेत्रहरुमा संक्रमणको संभावना बढी छ ।
कोरोना संक्रमणका संभावित जोखिमहरु
१. भाइरस संक्रमणको पहिचानबिना सामूहिक रुपमा आइसोलेशन सेल्टरमा राख्दा समूहमा एकजना मात्र पनि संक्रमित
भएमा सबैलाई भाइरसको संक्रमण हुनसक्छ ।
२. बेलायतबाट चैतको सुरुमै नेपाल आएका भनिएका व्यक्तिहरुमा चार–पाँच हप्तामा मात्र रोगको लक्षण देखिएको अवस्थामा यसअघि दुई हप्ता आइसोलेशनमा राखी रोगको लक्षण नदेखिएर सुरक्षित ठानी घर पठाइएकाहरुबाट सम्बन्धित सबै ठाउँमा भाइरस संक्रमणको खतरा भएको छ ।
३. र्यापिड टेष्टिङ्ग र पीसीआरमा फरक नतिजा देखिन थालेको अवस्थामा र्यापिड टेष्टकोे नतिजालाई विश्वास गरी सुरक्षित ठानी घर पठाइएकाहरुबाट समाजमा निकै ठूलो जोखिम बढेको छ ।
४. कतिपय खाद्यान्न र तरकारी पसलहरुमा दिनहुँ अव्यवस्थित भिड देखिन्छ । त्यहाँ पनि संक्रमणको त्यत्तिकै जोखिम छ ।
५. रातदिन खटिने कतिपय सुरक्षाकर्मीहरुले सामान्य मास्क पनि लगाएको देखिदैन । के सुरक्षाकर्मीलाई भाइरसको संक्रमण हँुदैन, तिनीहरुमा संक्रमण भएमा तिनीहरुबाट अरु कतिजनामा संक्रमण हुन्छ ठेगान छैन ।
६. चिकित्साकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री(पीपीई) समयमा पर्याप्त उपलब्ध नहुँदा विकसित देश इटलीको स्वास्थ्य प्रणाली धरासायी हुन पुग्यो । सयभन्दा बढीं चिकित्साकर्मीको ज्यान गयो । सम्पन्न देश भएकाले क्युवाबाट चिकित्सक ल्याएर स्वास्थ्य प्रणाली व्यवस्थापन गरियो ।
यहाँ अहिले सामान्य रुघाखोकी तथा ज्वरोका बिरामीहरुले अस्पतालमा टेक्न नै नपाई मर्नुपर्ने अवस्था आएको छ ।
भरपर्दो टेष्टि कीट र व्यक्तिगत सुरक्षा सामग्रीको अभावले यस्तो अवस्था आएको हो । संक्रमित वा संभावित संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहने चिकित्साकर्मी, एम्बुलेन्स चालक, औषधी बिक्रेता तथा सुरक्षाकर्मी आदिलाई व्यक्तिगत सुरक्षा सामग्रीको यथाशीघ्र व्यवस्था भएन भने विकसित देश इटलीको त बेहाल भयो भने हाम्रो देशको के हाल होला ?
७. लकडाउनमा अलपत्र परेकाहरुलाई राहतको नाममा असुरक्षित तरिकाले वितरण भइरहेको खाद्यान्न वितरण वा खानपिन व्यवस्थापनका क्रममा संक्रमणको जोखिम रहेको छ ।
८. अत्यावश्यक खाद्यान्न र सामग्री बोेकेका गाडीहरु, एम्बुलेन्स वा कुनै पासवाला गाडीहरुमा पीडितलाई लिफ्ट दिएर लुकीछिपी ओसार्ने क्रममा एकअर्कोमा संक्रमणको जोखिम झनै बढी छ ।
९. जिम्मेवार निकायबाट गरिने प्रचारप्रसार, राहत वितरण तथा पत्रकारसम्मेलन आदिमा अव्यवस्थित भिडभाडले पनि संक्रमणको जोखिम बढाएको छ ।
१०.सामानको प्रकृति अनुसार संक्रमितले छोएको वा हाँछ्यू गर्दा टाँसिएको सामानमा ४ घण्टा देखि ९ दिनसम्म भाइरस बाँच्न सक्ने वैज्ञानिकको भनाइले सो अवधिमा उक्त सामान अरुले छोएमा र सामान छोएको हात साबुनपानीले राम्ररी धुनु अघि अनुहारमा छोएमा संक्रमणको संभावना रहेकाले बाहिरबाट ल्याइएको खाद्यान्न तथा अन्य सामग्री प्रयोग गर्दा वा छँुदा सतर्कता अपनाइएन भने संक्रमण हुन सक्छ ।
११.कोरोेना भाइरस हावामा ३ फीटदेखि करीब २७ फीटसम्मको दुरीमा ३ घण्टासम्म बाँच्नसक्ने वैज्ञानिकहरुको भनाईले संक्रमितले हाँछ्यू गरेको स्थानमा सो दुरीभित्र सो समयमा कसैले यात्रा गरेमा भाइरसको संक्रमण हुनसक्ने संभावना देखिएकोले संक्रमितलाई वस्तिको बीचमा भएका आइसोलेशन शेल्टरहरुबाट नजिकका बस्तिमा रहेकाहरुलाई संक्रमणको जोखिम हुन सक्छ ।
१२.सर्वसाधारणले उपचार गराउने सरकारी अस्पताललाई कोरोना जाँच तथा उपचार गर्ने अस्पताल बनाइँदा कोरोना भाइरसको डरले नियमित वा आकस्मिक उपचार सेवा लिने सर्वसाधारण बिरामीहरुको अवस्था झनै नाजुक हुनसक्छ र सामान्य लापरवाहीले बिरामीसहित बिरामीसँग जाने राम्रै मानिसमा पनि भाइरसको संक्रमण हुन सक्छ ।
१३.पशुपंक्षी वा त्यस्तै अखाद्य वस्तुबाट मानिसमा सरेको शंका गरिएको यो भाइरस अमेरिकाको एउटा चिडियाखानामा मानिसबाट बाघलाई सरेको पुष्टी भएकाले यहाँका संक्रमितहरुबाट खाना वा अन्य माध्यमबाट भुस्याहा कुकुर, काग, हाँस, कुखुरा आदिमा संक्रमण भयो भने तिनीहरुबाट पूरै देश जोखिममा पर्न सक्छ, आदि ।
लकडाउनको असर
कृषि, पर्यटन, उद्योगधन्दा, व्यापार व्यवसाय, निर्माण, यातायात, सेवा आदि सबै क्षेत्र चौपट भइरहेको स्थिति छ । अकस्मात गरिएको लकडाउनले बेरोजगार भएका यी क्षेत्रका प्रायजसो दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरु घर जान नपाउँदा र आफूसँग भएको पैसा खानापानमै सकिँदा बिचिल्लीमा परेका छन् । लकडाउन लम्बिदा अनिश्चितताकै बीच हिँडेर लामो दुरीको पैदल यात्रामा निस्केकाहरु केही घर पुगिसकेका छन् भने अधिकांश बीच बाटोमै अलपत्र परेका छन् ।
देश विकासको मेरुदण्डको रुपमा रहका उद्योग व्यवसाय बन्द हुँदा उद्योगी व्यवसायीलाई हुने घाटासँगै यस क्षेत्रमा कार्यरत लाखौं कर्मचारी, मजदुरहरु र तिनका परिवारहरुको अस्तित्व संकटमा परेको छ । साथै यो क्षेत्रबाट राज्यलाई प्राप्त हुने कर पनि गुमिरहेको छ । सुरक्षित तरिकाले उद्योगहरुको संचालनमा ध्यान नदिइएमा यस क्षेत्रमा प्रवाह भएको ऋण डुब्न गई बैक र बीमा क्षेत्रसँंगै राष्ट्रिय अर्थतन्त्र पनि धरापमा पर्न सक्छ ।
शहरबजारहरुकाले साग तरकारी, माछा, मासु, अण्डा, फलफूल, दूध आदि कृषिजन्य उत्पादनहरु सुलभ रुपमा नपाउने र अर्कोतर्फ कृषकहरुको लाखौं करोडौंको उत्पादन र लगानी खेर गइरहेको अवस्था देशका लागि घातक हुन सक्छ । आफ्नो देशका कृषकहरुले ऋण लिएर गरेको ताजा कृषि उत्पादन बजारसम्म पुग्न नपाएर त्यत्तिकै खेर गइरहेको, तर भारतबाट बिषादी मिसिएको सडेगलेको कैयौं दिनको बासी कृषि उपज हामीले उपभोग गर्नु परिरहेकोछ । नियोजित रुपले नै देशलाई धरापमा पार्ने काम धेरै पहिलेदेखि नै हँुदै आए पनि यस्तो आपतकालीन अवस्थामा पनि यही क्रम चलिरहेमा आर्थिक रुपले देशको अवसान हुन धेरैबेर लाग्ने छैन । आन्तरिक स्रोतसाधनमा आधारित कृषि, उद्योगधन्दा, जलश्रोत, निर्माण आदिका काम रोकिएमा देश कंगाल भई पूर्णरुपमा परनिर्भर हुने स्थिति आउनसक्छ । परनिर्भरताले पराधिनता निम्तिन्छ र देशको अस्तित्वमा संकट आउने संभावना रहन्छ ।
नेतृत्वको लापरवाहीले गुमेको अवसर
माघ १० मा चीनबाट भित्रिएकामा फेला परेको एउटा केसबाहेक नेपालमा धेरैपछि मात्र यो भाइरसको प्रभाव देखिएको अवस्थामा उत्तरकोरिया, ताजिकिस्तान तथा केही प्रशान्त महासागरीय देशहरु जस्तै समयमै सीमा नाकाहरु बन्द गरेर वा पूर्व सतर्कता अपनाएर धेरै हदसम्म सुरक्षित हुन सकिन्थ्यो ।
फागुन २४ गतेदेखि लागू हुने गरी चीन, जापान, दक्षिणकोरियासहित कोरोना भाइरसको बढी प्रभाव रहेका ६ देशका नागरिकहरुलाई अनअराइभल भिसा दिन बन्द गरिएकै समयमा विदेशमा रहेका नेपालीहरुलाई घर फर्कन १० दिनको समयसीमा दिएर तत्पश्चात अत्यावश्यक लाइफलाइन सपोर्टका सामग्रीको अति सुरक्षित रुपले गरिने ढुवानीबाहेक चीन तथा भारतसँगका बोर्डरलाई सुरक्षा सिलबन्दी र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थललाई सुरक्षित तरिकाले व्यवस्थित गरिएको भए नेपाल र नेपालीलाई निम्न फाइदा हुनसक्थ्यो ।
१.विदेशमा भरपर्दो रोजगारी नभएका र असुरक्षित रहेकाहरु बोर्डर शील हुनुअघि नै नेपाल प्रवेश गरिसकेका हुन्थे । यसरी प्रवेश गर्नेहरुलाई बोर्डरमै भरपर्दो र्यापिड टेष्ट कीटबाट जाँच गरेर संक्रमित देखिएकालाई सुरक्षित व्यवस्थित आइसोलेनमा पठाउने र बाँकीलाई कम्तीमा ३ हप्ता होम आइसोलेशनमा बस्ने गरी सिधै घर पठाउने व्यवस्था गरिएको भए संभावित संक्रमितको ट्राभल हिष्ट्री पत्ता लगाउन र तिनलाई गाउँ गाउँ, वस्ती वस्ती, टोल टोलमा चाहार्नु पर्दैनथ्यो र समुदायमा त्रासको स्थिति हुँदैनथ्यो ।
२. र्यापिड टेष्टिङ्गबाट बोर्डरमै संक्रमितकोे पहिचान भएर तिनलाई समुदायबाट टाढा प्राकृतिक रुपले नै आइसोलेटेड सुरक्षित अस्पतालमा उपचार गरिएको भए देशमा लकडाउन गर्नुपर्ने अवस्था नै आउदैनथ्यो । सुरक्षित वातावरणमा संक्रमितहरुको निको हुने क्रम पनि बढी हुन सक्थ्यो ।
३. देशमा लकडाउन नै गर्नु नपरेको भए देशभित्र पूर्वनिर्धारित आयोजनाहरु र आर्थिक गतिविधिहरुमा नियमित रुपले संचालन हुन्थे।
४. विदेशमा बेरोजगार बन्नुपर्ने र ज्यान नै धरापमा पर्ने स्थितिमा त्यहाँ रहेका दक्ष जनशक्ति आफ्नो देशमा फर्केर स्वदेशी स्रोत, साधन र आफूमा निहित दक्षता तथा प्रविधिकोे उच्चतम सदुपयोग गरेर देश विकासमा नयाँ आयाम थपिन सक्थ्यो । भाइरसले धेरै देश आक्रान्त रहेका बेला हाम्रो देश विकासको शिखरतर्फ लम्किन सक्थ्यो ।
५. भारतबाट भित्रिने अधिकांश साग तरकारी, फलफूल र खाद्यान्नसंगै भाइरस पनि भित्रिन सक्ने संभावना रहेका बेला स्वदेशमा गरिएको कृषि उत्पादनले राम्रो बजार पाउनुका साथै सोसँग सम्बन्धित कृषिमा औद्योकिकरणको विकास हुन सक्थ्यो । त्यससँगै बैंक तथा बीमा क्षेत्र सजिलै फस्टाउथ्यो र समग्रमा देशको ग्राहस्थ उत्पादनमा ठूलो फड्को मार्न सक्थ्यो ।
६. प्राकृतिक औषधी भण्डारको रुपमा रहेको हिमालय क्षेत्रका ताजा वनस्पतिबाट कोरोना भाइरस नियन्त्रणमा संभाव्य संजीवनी औषधी विदेश निर्यात गरी विदेशी मुद्रा आर्जन गरेर देशको कायापलट हुने संभावना रहन्थ्यो ।
७. फेब्रुअरी र मार्चको सुरुमा नेपाल आएका कतिपय विदेशी पर्यटकहरु कोरोना भाइरसको आतङ्कले आफ्नो देश फर्कनै मानिरहेका छैनन् । तुलनात्मक रुपमा नेपाल नै सुरक्षित रहेको भन्दै नेपालमै बस्न दिन अनुरोध गरिरहेका छन् । भाइरसलाई समाजमा खुला प्रवेश नदिएको भए नेपाल अहिले स्वर्ग जस्तै शान्त रहन्थ्यो र निश्चित तोकिएको क्षेत्रमा पर्यटन गतिविधि गर्ने गरी ट्रिप अपरेटरको सिफारिसमा अनलाइन भिसाको व्यवस्था गरेर भाइरस फ्री विदेशी पर्यटकहरुलाई नेपालमा प्रवेश दिन सकिन्थ्यो । भाइरस खतराको बढी संभावना भएका पाका उमेरका प्रशस्त खर्च गर्न सक्ने विश्वभरीका धनाढ्य पर्यटकहरु स्वर्गजस्तो सुरक्षित ठाउँमा सजिलै यात्रा गर्न आउथे र तिनीहरुबाट देशलाई निकै ठूलो विदेशी मुद्रा आर्जन हुनसक्थ्यो ।
त्यसैगरी, हिमाल आरोहणका लागि रोयल्टी बुझाइसकेका स्वास्थ्य आरोहीहरुको आरोहण पनि रद्ध गर्न पर्दैनथ्यो । नेपाल भ्रमण वर्ष २०२० संख्यात्मक रुपमा सफल नभए पनि यस क्षेत्रबाट हुने आम्दानी बढी नै हुनसक्थ्यो, आदि ।
महामारीबाट हामी र हाम्रो अर्थतन्त्रलाई जोगाउन सकिने संभाव्य उपायहरुः
विश्वभरिका सम्वद्ध वैज्ञानिकहरुले भाइरस रोकथाम, नियन्त्रण र औषधोपचारका विभिन्न खोज अनुसन्धानबाट केही खोप तथा औषधी परीक्षण गरिरहेका समाचार बाहिरिए पनि भरपर्दो प्रभावकारी खोप पत्ता नलागेसम्म र यसको पर्याप्त उपलब्धता नभएसम्म यो भाइरस नियन्त्रणमा आउने संभावना क्षीण रहेको विश्व स्वास्थ्य संगठनले उल्लेख गर्नु र संक्रमित तथा ज्यान गुमाउनेको संख्या दैनिक बढ्दै जानुले यो भाइरस छिट्टै नियन्त्रणमा आउने देखिदैन ।
तर, हामीले यो भाइरस संक्रमण हुने संभावित बाटो रोकेर (रोकथाम), संभाव्य समुदायमा देशैभरी एकैपल्ट संक्रमित भए नभएको पहिचान गरेर (टेष्टिङ्ग), पहिचान भएको संक्रमितलाई कोरोना विशेष अस्पतालमा उपचार गरेर (आइसोलेशन एण्ड ट्रिटमेंन्ट), बढी शंकास्पद क्षेत्रमा लकडाउनलाई कडाइ गरेर वा कफ्र्यू लगाएर (कन्ट्रोल), बिचिल्लीमा परेकाहरुको समूचित व्यवस्थापन गरेर तथा टेष्टिङ्ग गरी सुरक्षित ठहरिएका वस्तीका बासिन्दाहरु, कृषकहरु, उद्योगी व्यवसायीहरु र सो क्षेत्रमा काम कर्मचारी तथा मजदुरहरुलाई काम गर्न प्रोत्साहन गरेर हामी र हाम्रो अर्थतन्त्रलाई केही हदसम्म सुरक्षित राख्न सक्छौं ।
हालसम्म यो भाइरस नियन्त्रणको खोेप वा औषधी पत्ता लागिनसकेको र संभावित संक्रमित समाजमा घुलमिल भइसकेकोले यसको जोखिमलाई कम गरी जीवन र जगतलाई जोगाउन निम्न उपाय अबलम्बन गर्न सकिन्छ ।
१. अत्यावश्यक लाइफलाइन सपोर्टका सामग्रीको अति सुरक्षित रुपले गरिने ढुवानीबाहेक लुकिछिपी कोही पनि प्रवेश गर्न नसक्ने गरी चीन तथा भारतसँगका बोर्डरलाई नेपाली सेनाको तैनाथीसाथ सिलबन्दी गर्ने । भारतमा बेरोजगार भई खान र बस्नमै समस्या परेका र भाइरसबाट संक्रमण हुने खतरामा परेकाहरुलाई सरकारको समन्वयमा सुरक्षित व्यवस्थापन गर्ने तथा गराउने । तर कसैलाई पारिवारिक समस्या परेको भएमा र्यापिड टेष्ट गरी संक्रमित नदेखिएमा लगत राखी कम्तीमा ३ हप्ता घरमै आइसोलेशनमा बस्ने गरी घर जाने व्यवस्था मिलाइदिने ।
२.चिकित्साकर्मी, एम्बुलेन्स चालक, औषधी बिक्रेता तथा पब्लिकको प्रत्यक्ष सम्पर्कमा रहने सुरक्षाकर्मी आदिलार्ई व्यक्तिगत सुरक्षा सामग्री(पीपीई)को यथाशीघ्र व्यवस्था गर्ने गराउने ।
३. नक्कली टेष्ट कीटको फल्स नतिजाले पूरै देश खतरामा पर्ने भएकाले विश्वसनीय कम्पनीबाट भरपर्दो सक्कली टेष्ट कीटहरु पर्याप्त मात्रामा आयात गर्ने र सुलभ तरिकाले आवश्यक ठाउँमा उपलब्ध गराउने ।
४. लकडाउनअघि र लकडाउनकै समयमा भारतबाट आएकाहरु घुलमिल भइसकेका सुदूर तथा मध्यपश्चिम र अन्य संभावित ठाउँहरुमा भरपर्दो र्यापिड टेष्ट कीटबाट टेष्टिङ्ग गरी संक्रमण देखिएकाहरुलाई आइसोलेशनमा राखेर तत्काल कोरोना विशेष अस्पतालमा पठाउने र सुरक्षित तरिकाले उपचार गर्ने तथा गराउने ।
५. भाइरस संक्रमणको संभावनाको आधारमा देशलाई विभिन्न भागमा विभाजन गर्ने जस्तै भारतसँगका सीमावर्ती क्षेत्रलाई अति संवेदनशील वा अति असुक्षित क्षेत्र, भारत वा अन्य देशबाट आएकाहरु घुलमिल भइसकेका क्षेत्रलाई असुरक्षित क्षेत्र, अति असुरक्षित वा असुरक्षित क्षेत्रका संभाव्य संक्रमितहरुको सम्पर्कमा आएकाहरु रहेको ठाउँहरु, अस्पतालहरु तथा चीनसंगका सीमावर्ती वस्तीहरु अर्धसुरक्षित क्षेत्र र बाँकी भागलाई सुरक्षित क्षेत्रमा वर्गीकरण गर्ने ।
लकडाउन अहिलेको स्थितिमा अपरिहार्य भएपनि विदेशको झै जस्ताका तस्तै कपी गर्नुका साटो यसलाई उपरोक्त वर्गीकृत क्षेत्र र हाम्रो देशको भौगोलिक अवस्थाका आधारमा व्यवस्थित गर्ने जस्तै अति असुरक्षित क्षेत्रमा आवश्यक परे कफ्र्यूसम्म लगाउने, असुरक्षित क्षेत्रमा बिचल्लीमा परेकाहरुलाई सरकार वा सम्बद्ध निकायले गरिदिने यात्रा व्यवस्थापन बाहेक लकडाउनमा निकै कडाइ(एउटा वडाबाट अर्को वडामा मात्र नभएर जोखिम अनुसार एक गाउँ वा टोलबाट अर्को गाउँ वा टोलमा आवागमन गर्नमा पनि कडाइ गर्ने), अर्धसुरक्षित क्षेत्रमा लकडाउनलाई केही खुकुलो पार्न सकिन्छ भने सुरक्षित क्षेत्रमा पहिले झै नियमित जीवनशैली अपनाउन र सुरक्षित तरिकाले सतर्कता अपनाएर उद्योगधन्दा, व्यापार व्यवसाय, कृषि, निर्माण, सेवा आदि गतिविधि गर्न दिंदा देशको अर्थतन्त्र धरापमा पर्नबाट जोगिन सक्छ ।
५. उद्योग, कल कारखाना, व्यवसाय, पूर्वाधार निर्माण, कृषि, सेवा तथा अन्य रोजगारमूलक आदि क्षेत्रका कर्मचारी मजदुरहरुलाई भरपर्दो र्यापिड टेष्ट कीटबाट टेष्टिङ्ग गरी स्वस्थ रहेकाहरुलाई भाइरसको संक्रमण नहुने गरी व्यवस्थापन गर्ने र बाहिरबाट भर्खरै आयात गरिएका वा अन्य सामग्रीहरु र स्थानलाई डिस्इन्फेक्ट गरी काम संचालन गर्न सकिन्छ ।
६. कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिई कृषि उत्पादनलाई समयमै बजारसम्म सुरक्षित ढुवानीको व्यवस्था गरिएमा देश आत्मनिर्भर भई यसका लागि विदेसिने अरबौं राशी जोगिन्थ्यो र सो रकम राष्ट्र निर्माणमा उपयोग हुन्थ्यो । आन्तरिक उत्पादनकोे उपभोगमा भाइरस संक्रमणको जोखिम पनि कम हुन्छ ।
७. कोरोना भाइरस संक्रमितको उपचारमा अप्रमाणित रुपमा प्रयोग भइरहेको हाइड्रोक्सिक्लोरोक्वीन औषधी अमेरिकाले भारतसँग् ठूलो मात्रामा माग गरेको अवस्थामा हाम्रो देशमा पनि सोसहित सबै किसिमका भाइरस नियन्त्रणमा उपयोग हुन सक्ने अन्य औषधीहरुको अनुसन्धान तथा उत्पादनमा जोड दिंदा निकट भविष्यमा देशलाई फाइदा हुन सक्छ ।
देशका विभिन्न स्थानमा अलपत्र परेकाहरुलाई दाताहरुबाट उपलब्ध हुने आंशिक राहतले गाँस, बास र कपासको समस्या भई बाँच्ने आधार नभएको, कुनै स्थानमा उपलब्ध भएका आवासमा पिउने पानी र सरसफाईको व्यवस्था नभएको, मलमुत्र त्याग गर्ने ठाउँ पनि सुरक्षित नभएको तथा आंशिक रुपले उपलब्ध हुने राहतबाट भाइरस संक्रमणको उच्च जोखिम भएकाले सरकारले तिनीहरुको लगत लिएर सम्बन्धित पालिकामा समन्वय गरेर त्यहीँ टेष्टिङ्ग र व्यवस्थापन गर्ने गरी सरकारले साझाबससहित डेढ दुईसय बस रिजर्भ गरेर सुरक्षित तरिकाले सम्वन्धित पालिकाको जिम्मा लगाइदिनु उपयुक्त हुन्छ । अन्यथा हिँडेरै घर जाने क्रममा भाइरसको संक्रमण भएमा सम्बन्धित समाज जोखिममा पर्नेछन् । पहिले नै टेष्टिङ्ग गरेर सुरक्षित ठहरिएकाहरुलाई फेरी पुनः परीक्षण गर्नुपर्ने समस्या दोहरी रहन सक्छ र कहिल्यै समाधान नहुने गरी समस्या बल्झिरहन सक्छ । घरजानेहरुबाटै भाडा असुल गर्ने गरी गन्तव्यमा पुग्ने व्यवस्था गरिएमा कुनै आर्थिक भार पनि पर्दैन । सम्माननीय सर्वोच्च अदालतको आदेशको पनि मान रहोस् र समस्या समाधानमा पनि टेवा पुगोस् ।
८. विदेशमा अलपत्र परेकाहरुलाई पनि सकेसम्म त्यहाँको सरकारसँग समन्वय गरेर त्यहीं व्यवस्थापन गर्ने गराउने, संभव नभएमा उद्धार गरेर त्रिभूवन विमानस्थलमै टेष्टिङ्ग गरी संक्रमण भएकालाई कोरोना विशेष अस्पतालमा पठाउने र बाँकीलाई कडाइका साथ होम क्वारेन्टाइनमा बस्ने गरी सुरक्षित तवरले सम्बन्धित पालिकाको जिम्मा लगाइदिने । उद्धार खर्च सम्बन्धित व्यक्तिहरुबाटै असुल गर्ने गरी सरकारले व्यवस्थापन गर्नुपर्छ ।
९. अहिलेको महामारीबाट बचियो र विदेशबाट फर्किएका सम्बन्धित क्षेत्रका दक्ष जनशक्तिलाई राष्ट्र निर्माणमा सदुपयोग गर्न सकियो भने अहिलेको समस्या देश विकासको काशेढुंगा पनि सावित हुन सक्छ ।
१०. काठमाडौंका अधिकांश तरकारी बजारहरुमा विहान र बेलुकी ठूलो असुक्षित भीड हुने भएकाले तुलनात्मक रुपले कम भीड हुने दिउँसोको समयमा तरकारी लिन जाँदा सुरक्षित हुन सक्छ ।
११. विदेशबाट आयात हुने वस्तुलाई भन्सार विन्दुमै निस्संक्रमित गरी भित्र्याउँदा सुरक्षित हुन सकिन्छ ।
१२. कोरोनाका बिरामीको भरपर्दो औषधी उपचार पत्ता लागि नसकेको अवस्थामा विशेष अस्पतालका लागि साधन सम्पन्न भएको कुनै खासै ठूलो पूर्वाधारको जरुरी छैन । बरु प्राकृतिक वातावरण र हेरचाहको राम्रो व्यवस्था भएको अस्पताल भए पुग्ने भएकाले मानव वस्तिदेखि केही टाढा शान्त वातावरण र सरसफाइको राम्रो व्यवस्था हुने गरी अस्थायी अस्पताल बनाउन सकिन्छ वा कुनै प्राइभेट अस्पताललाई लिएर चलाउन सकिन्छ ।
सर्वसाधारणले उपचार गराउने सरकारी अस्पताललाई कोरोना जाँच तथा उपचार गर्ने अस्पताल बनाइँदा कोरोना भाइरसको डरले नियमित वा आकस्मिक उपचार सेवा लिने सर्वसाधारण बिरामीको अवस्था झनै नाजुक हुन सक्छ र बिरामीसहित बिरामीसंग जाने राम्रै मानिसमा पनि भाइरस संक्रमण हुन सक्छ । सबै सर्वसाधारणहरु महंगा प्राइभेट अस्पतालहरुमा स्वास्थ्यसेवा लिन नसक्ने र कोरोना विशेष सरकारी अस्पतालमा भाइरस संक्रमणको डरले जान हिच्किचाउने भएकाले सर्वसाधारणहरु सरकारी सुलभ स्वास्थ्यसेवाबाट बञ्चित हुन नदिने तर्फ ध्यान दिन जरुरी छ ।
१३.र्यापिड टेष्टिङ्गमा पोजिटिभ देखिएका केही केसहरु पीसीआरमा नेगेटिभ देखिनु र भर्खरै ठूलो संख्याका नेगेटिभ केसहरु पीसीआरमा पोजिटिभ देखिनु खतराको संकेत हो । यस्ता घातक नक्कली टेष्ट कीटहरुको आयातले भयावह स्थिति आउन सक्छ ।
चीनमा विगत केही हप्ता नियन्त्रणमा आएको भनिएको यो भाइरसले पुनः धेरैकोे ज्यान लिन थालेको अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीय रहेको कम्पनीबाट भरपर्दो ब्रान्डेड टेष्ट कीट र सुरक्षित व्यक्तिगत सुरक्षा सामग्रीहरु पर्याप्त मात्रामा यथाशीघ्र आयात गरी देशभरी आवश्यक सबै ठाउमा उपलब्ध गराउने र पर्याप्त स्टकमा राख्नु उपयुक्त हुन्छ ।
१४.सबैभन्दा राम्रो बच्ने उपाय भनेको यो भाइरस लाग्ने बाटो बन्द गर्नु हो । त्यसको लागि सकभर घरभित्रै बस्ने, अरुको घरमा नजाने र अरुलाई पनि आङ्खनो घरमा नआउन आग्रह गर्ने, संभव भएसम्म बाहिरको साग तरकारी तथा खाद्यान्न नल्याउने, ल्याउनै पर्ने भएमा मास्क लगाएर सुरक्षित तवरले ल्याउने र घाममा २ घंटा सुकाएर निस्संक्रमित गरेर मात्र उपभोग गर्ने, बाहिरबाट घर आउँदा वा बाहिरबाट ल्याएका सामान राखी सकेपछि साबुनपानीले राम्ररी हात धुने, संभावित असुरक्षित सामान समात्नु पर्दा वा छँुदा कम प्रयोग हुने हातले समात्ने ताकी बढी प्रयोग हुने र अनुहारतिर जाने हात भाइरसबाट सुरक्षित रहोस् ।
१५.भाइरसको संक्रमण हुँदैमा मरिहाल्ने होइन । www.worldometers.info को तथ्याङ्क अनुसार प्रत्येक १०० जना बिरामीमा ७ जनाको मात्र ज्यान गइेरहेको छ । करीब ६ लाखजति बिरामीहरु निको भइसकेका छन् । त्यसैले त्रसित हुनुको सट्टा भाइरसबाट बच्नका लागि सुरक्षा सतर्कताका साथै रोगसँग लड्ने शरीरको प्रतिरक्षा प्रणाली पनि बलियो बनाउनेतर्फ ध्यान दिनुपर्छ ।
यसका लागि गहुँ, कोदो, मकै तथा ओखलमा कुटेका चामल वा ब्राउन राइस आदि खाद्यान्न र लसुन, धनियाँ, प्याज, अदुवा, टिमुर आदि मसलाको उपभोग गर्नुको साथै बाहिरका तयारी पत्रु खानेकुराहरु र मद्यपानलाई सीमित गर्ने र धुम्रपानलाई पूर्ण रुपमा त्याग्नु नै उपयुक्त हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो रोगका भाइरसहरु ७० प्रतिशत जति जनावर र मासुबाट आएकाले मासु पूर्ण रुपमा सुरक्षित रहेको प्रमाणित नहुञ्जेल उपभोग नगर्न सुझाइएकोले असुरक्षित ठानिएको मासु नखाँदा नै राम्रो हुनेछ ।
१६.नेपालका अधिकांश ठाउँहरु अझै पनि सुरक्षित छन् । सुरक्षित रहेका निश्चित क्षेत्रमा पर्यटन गतिविधि गर्ने गरी ट्रिप अपरेटरको सिफारिसमा अनलाइन भिसाको व्यवस्था गरेर त्रिभूवन विमानस्थलबाट मात्र प्रवेशको व्यवस्था गरी र्यापिड टेष्टिङ्ग विधिबाट संक्रमित नरहेका स्वस्थ्य धनाढ्य विदेशी पर्यटकहरुलाई नेपालमा आउने व्यवस्था गरिएमा (संक्रमित देखिएकाहरु सोही जहाजमा फिर्ता हुनेगरी) विश्वभरीका धनाढ्य पर्यटकहरु स्वर्गजस्तो सुरक्षित ठाउँमा सजिलै यात्रा गर्न आउन सक्छन् र तिनीहरुबाट देशलाई निकै ठूलो विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।
यो भाइरस सबैको साझा शत्रु भएकाले विश्वभरका सरकार प्रमुखहरुले एकआपसमा समन्वय गरेर एकजुट भएर समाधानको उपाय निकाल्नु पर्दछ । चीनले टेष्ट कीट तथा व्यक्तिगत सुरक्षा सामग्री उत्पादन तथा वितरण गरेर सहयोग गरिरहेको छ भने क्युवाले इटलीको चिकित्सकको अभावलाई पूर्ति गरेर तथा सबै देशहरुले संभावित संक्रमित र बिचिल्लिमा परेका एकअर्काका नागरिकहरुलाई एकआपसमा समन्वय र व्यवस्थापन गरेर अहिलेको समस्यासंग सामूहिक रुपले समाधान निकाल्नु नै बुद्धिमानी हुन्छ ।
नेपाल सरकारले यो समस्यासँग जुध्न, आफ्ना नागरिकहरु र देशलाई बचाउन हरसंभव प्रयत्न गर्नुपर्दछ र नागरिकहरुले पनि आफ्ना दायित्व र कर्तव्य पूरा गर्नुपर्दछ । संभावित संक्रमितलाई परिवारले लुकाएर राख्दा पूरै परिवार र छिमेकीको ज्यान खतरामा पर्न सक्छ भन्ने कुरामा समयमै ध्यान दिएर सकभर सुरक्षित रहेसम्म परिवारको सदस्य जहाँ छन्, त्यहीं रहन अनुरोध गर्ने । असुरक्षित रहेको अवस्थामा सम्बन्धित स्थानीय निकायलाई निजको सुरक्षित व्यवस्थापनको लागि अनुरोध गर्ने । यसरी आएको अनुरोधलाई स्थानीय निकायले प्रदेश तथा संघीय सरकारको समन्वयमा उद्धार तथा उचित व्यवस्थापन गरेर आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गर्नु पर्दछ ।
नागार्जुन १, काठमाडौं
(लेखक काठमाण्डौका पर्यटन व्यवसायी हुन् ।)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago